शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीमा ट्रक ठक्करबाट एकजनाको मृत्यु

शुक्रवार , भाद्र २०, २०८२

सिन्धुली,२० भदौ – सिन्धुलीमा शुक्रबार बिहानै भएको सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अर्को घाइते भएका छन् । शुक्रवार बिहान करिब ६ बजे कमलामाई नगरपालिका–९ बथानचौडी नजिकै मदनभण्डारी राजमार्गमा विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश–०१–००६ ख ९६४४ नम्बरको ट्रकले दुई जना पैदलयात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

ठक्करबाट कमलामाई–९ का ४६ वर्षीय भुवन भुजेल र ६४ वर्षीय टेक प्रसाद दाहाल घाइते भएका थिए । दुबैलाई उपचारका लागि बर्दिबासस्थित शुभ–स्वस्तिक अस्पताल पठाइएको थियो । अस्पतालमा उपचारका क्रममा भुजेलको मृत्यु भएको पुष्टि गरिएको छ भने दाहालको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

दुर्घटना पछि ट्रक अनियन्त्रित भई सडकको दाहिनेपट्टि रहेको घरमा ठोक्किँदै कोल्टे परेको थियो । उक्त घटनामा घरसमेत क्षति पुगेको छ । घरको गारोले दबिँदा करिब २० वटा कुखुरा मरेको समेत जनाइएको छ । घटनास्थलमै इलाका प्रहरी कार्यालय भिमानबाट प्रहरी निरीक्षक टंक बहादुर कार्कीको नेतृत्वमा ट्राफिकसहितको टोली पुगेर आवश्यक कार्य भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि ट्रक घटनास्थलमै रहेको छ भने चालकलाई इलाका प्रहरी कार्यालय भिमानले नियन्त्रणमा लिएको छ । प्रहरीले थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

प्रतिक्रिया