शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीमा फरार प्रतिवादी सन्तोष दर्नाल पक्राउ

आइतवार , भाद्र ८, २०८२

सिन्धुली,८ भदौ — सवारी ज्यान मुद्दामा अदालतबाट कैद सजाय सुनाइए पनि वर्षौँदेखि फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । गोरखा जिल्ला अदालतले २०७४ साल माघ २८ गते गरेको फैसलाअनुसार २ महिना ३ दिन कैद सजाय सुनाइएका सिन्धुलीको तिनपाटन गाउँपालिका–११ बस्ने ३८ वर्षीय सन्तोष दर्नाललाई प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको हो ।

प्रहरी चौकी चकमकेबाट खटिएको टोलीले विशेष खोजतलासका क्रममा आइतवार बिहान साढे सात बजे दर्नाललाई उनको आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिएको हो । पक्राउ परेपछि उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीमार्फत सम्मानित सिन्धुली जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।

सवारी दुर्घटनामा मानवीय क्षति पुगेको आरोपमा अदालतले दोषी ठहर गरे पनि सजाय भोग्नुपर्ने समयमा दर्नाल फरार बनेपछि प्रहरीले लामो समयदेखि उनलाई खोजी गर्दै आएको थियो । अन्ततः प्रहरीले गरेको निरन्तर प्रयासपछि उनी नियन्त्रणमा परेका हुन् ।

हालैका दिनमा सिन्धुली प्रहरीले अदालतबाट दोषी ठहर भएका तर सजाय कार्यान्वयन नगरी लुकेर बस्ने फरार प्रतिवादीलाई पक्राउ गर्ने अभियानलाई तिव्रता दिएको छ । प्रहरी स्रोतका अनुसार यो अभियानले फरार अपराधीहरूलाई कानूनी दायरामा ल्याउन र कानूनी राज्यको अभ्यासलाई सुदृढ बनाउन ठूलो भूमिका खेलिरहेको छ । स्थानीयले पनि यस कदमलाई स्वागत गर्दै फरार अपराधीहरू अब सजाय भोग्नबाट उम्किन नसक्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया