सिन्धुली,०७ भदौ – बुबाको मुख हेर्ने दिनको अवसरलाई विशेष अर्थ दिन सिन्धुली अस्पतालमा भर्ना भएका बिरामीहरूलाई फलफूल र बैसाखी वितरण गरिएको छ । कमलामाई नगरपालिका–४ ढकालगाउँका स्वर्गीय सूर्यबहादुर कार्कीको सम्झनामा उहाँका छोराहरू भक्त कार्की, गणेश कार्की, दिनेश कार्की र आमा हिरामाया कार्कीको आर्थिक सहयोगमा यो कार्य सम्पन्न भएको हो ।
कार्यक्रम संयोजनकर्ता तथा जनज्योति माध्यमिक विद्यालय फोस्रेटारका पूर्वप्रधानाध्यापक भिमविक्रम थापाका अनुसार वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया रहेका भक्त कार्कीले आर्जन गरेको रकम गाउँमा पठाउनुभएको थियो । सो रकमबाट छ जोर बैसाखी खरिद गरी अस्पताललाई हस्तान्तरण गरियो भने बाँकी रकम फलफूल किन्न प्रयोग गरी अस्पतालमा उपचाररत बिरामीहरूलाई वितरण गरियो । थापाले भन्नुभयो, “स्व. सूर्यबहादुर कार्कीको स्मृतिमा उनका सन्तानले गरेको यो योगदान केवल सम्झना मात्र नभई समाजसेवाको प्रेरणादायी उदाहरण हो । भोलिका दिनमा पनि यस्ता सुकर्म निरन्तर हुनेछ भन्ने अपेक्षा गरेका छौँ ।”
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शतिष ढकालले परदेशमा रहँदा पनि गाउँ र समाजलाई सम्झिएको देख्दा आफूलाई उत्साह मिलेको बतउनुभयो । उहाँले भन्नुभयो, “बिरामीलाई फलफूल र बैसाखी वितरण गर्नु केवल सहयोग मात्र होइन, यो मानवता र आपसी सद्भाव फैलाउने काम हो। यस्ता प्रयासहरूले अस्पताललाई अझै जनमुखी बनाउन ऊर्जा दिन्छ ।”
सहयोग कार्यक्रमलाई अझ प्रभावकारी बनाउन समाजसेवी अम्बरदीप देवकोटा, बागमती प्रदेशका पूर्वस्वास्थ्य मन्त्री प्रदीप कटुवाल, र स्थानीय समाजसेवीहरू समेत अस्पताल पुग्नुभएको थियो । उहाँहरूले अस्पतालमा उपचाररत बिरामीलाई फलफूल वितरण गर्दै स्वास्थ्य लाभको शुभकामना दिनुभएको थियो ।
यो योगदानले विशेषगरी असहाय र विपन्न बिरामीलाई राहत दिनुका साथै, समुदायभित्र मानवीयता र एकताको सन्देश फैलाएको छ । स्व. सूर्यबहादुर कार्कीको परिवारले समाजप्रतिको दायित्वबोधका साथ गरेको यस कार्यलाई स्थानीयवासीले अत्यन्त सराहना गरेका छन् ।