सिन्धुली,०७ भदौँ – निरन्तर वर्षाका कारण अवरुद्ध भएको सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ अन्तर्गतको सडक स्थानीयवासीको सक्रियतामा फेरि सञ्चालनमा आएको छ । शनिबार वडा अध्यक्ष रविन श्रेष्ठ स्वयं स्थानीयसँगै खटिँदै छेत्पा हुँदै घोक्सीला–बारा जोड्ने करिब दुई किलोमिटर सडक सफा गरेर यातायात आवागमन सहज बनाइएको हो ।
सडकमा पहिरो र माटो थुप्रिएर लामो समयदेखि आवागमन अवरुद्ध हुँदा गाउँलेलाई दैनिक कामकाज, सामान ढुवानी तथा सर्वसाधारणको आवतजावतमा समस्या भइरहेको थियो । स्थानीयले कुनै बजेट वा ठेकेदारको मुख ताक्नुभन्दा पनि आफूले नै पहल गरेर सडक सफा गर्ने निर्णय गरेपछि अध्यक्ष श्रेष्ठको नेतृत्वमा टोलबासी एकजुट भएका हुन् ।
सडक सफाइ र मर्मतमा जुटेका स्थानीयको उत्साह देखेर वडा अध्यक्ष श्रेष्ठले यसलाई ‘आफ्नो गाउँ आफैं बनाउने अभियान’ को उदाहरणका रूपमा प्रस्तुत गर्नुभयो । उहाँले भन्नुभयो, “बजेट आउँछ, तर काम सधैं ढिला हुन्छ । यसपटक गाउँले आफैं जुटेर सडक खुलाएका छन्, यो नै वास्तविक जनसहभागिताको नमुनाहो हो ।”
सडक सुचारु भएपछि अहिले एम्बुलेन्स र साना गाडी सहजै गुड्न थालेका छन् । यसले आकस्मिक स्वास्थ्य सेवामा सहजता ल्याएको भन्दै गाउँलेहरूले खुसी व्यक्त गरेका छन् । स्थानीय कुमार नेपालीले सडक सरसफाईमा सबैको सहभागितालाई गर्वका साथ प्रस्तुत गर्दै भन्नुभयो, “हामी आफैं जुट्न सक्छौं भने गाउँका समस्या समाधान गर्न अरूको पर्खाइ गर्न पर्दैन । यो पहलले भविष्यमा अरू विकास कार्यमा पनि प्रेरणा दिनेछ ।”
सडक पुनः सञ्चालनमा आएसँगै ग्रामीण भेगका बासिन्दाले सहज ढुवानी मात्र होइन, विद्यालय जान, बजार जान र रोगी–विरामी अस्पताल लैजान समेत सजिलो भएको बताइरहेका छन् । यसले स्थानीय समुदायमा सामूहिक श्रमको महत्व र सहकार्य संस्कृतिलाई थप बल दिएको देखिन्छ ।
सिन्धुलीका अन्य क्षेत्रमा पनि वर्षायाममा सडक अवरुद्ध हुने समस्या बारम्बार दोहोरिने गरेको छ। गोलन्जोर–६ का बासिन्दाले भने यसपटक देखाएको सक्रियताले ‘समस्या समाधानमा स्थानीय नै मुख्य शक्ति हुन’ भन्ने सन्देश दिएको छ ।