शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

मित्रता, साझेदारी र प्रतिस्पर्धा : ‘तुलसी श्रेष्ठ –उद्वव दाहालबीच चुनावी जंग’

शनिवार , भाद्र ७, २०८२

 

सिन्धुली,७ भदौ – निर्माण क्षेत्रमा कार्यरत निर्माण व्यवसायीहरूको साझा संस्था सिन्धुली निर्माण व्यवसायी संघको १२औं साधारणसभा तथा ९औं अधिवेशन यतिखेर चुनावी माहोलमा होम्मीएको छ । यस निर्वाचनमा संघका १८ पदका लागि (मनोनित बाहेक) उम्मेदवारी दर्ता भएको छ ।निर्वाचन आइतवार बिहान ९बजे  बाट हुने छ ।

संघको अध्यक्ष पदमा तुलसी श्रेष्ठ र उद्वव दहालले उम्मेदवारी दर्ता गर्नुभएको छ । दुवै जना संघकै सक्रिय सदस्य मात्र नभई विगतमा निर्माण व्यवसायमा साझेदारी गर्दै आउनुभएका साथीसमेत हुनुहुन्छ । विशेषतः दुवैको आपसी मित्रता र सहकार्यले अधिवेशनलाई थप चासोपूर्ण बनाएको छ ।

संघको महासचिव पदमा श्रीलाल माझी निर्विरोध चयन हुनुभएको छ । यसपटक महासचिवमा उहाँ बाहेक कसैको मनोनयन नभएको कारण उहाँ सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको हो ।

तुलसी श्रेष्ठ हालका अध्यक्ष हुनुहुन्छ । अध्यक्ष रहँदा उहाँले संघलाई व्यवस्थित र जिम्मेवार रूपमा अघि बढाएको भन्दै व्यापक प्रशंसा पाइरहनुभएको छ । अर्कोतर्फ, उद्वव दहाल एक शालीन र भद्र व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ ।

२०७६ फागुनमा सम्पन्न भएको ८औँ अधिवेशनमा श्रेष्ठले दाहाललाई ३ मतले पराजित गर्दै अध्यक्ष बन्नुभएको थियो । त्यति बेला श्रेष्ठले ७७ मत पाउदा दाहाल ७४ मतमा सीमित हुनु भएको थियो । उक्त अधिवेशनमा काँग्रेस निकट प्यानलले अध्यक्षसहित केही पद जिते पनि एमाले–माओवादी निकट समूहको प्रभावशाली उपस्थिति देखिएको थियो ।

त्यस अधिवेशनमा उपाध्यक्षतर्फ काँग्रेस निकट रवीन्द्र कुँवरले एमाले निकट फणीन्द्र पोखरेललाई २ मतले हराउनुभएको थियो । दोस्रो उपाध्यक्षमा नेत्रलाल कुँवर ३ मतको अन्तरले विजयी हुनु भएको थियो । महासचिवमा भने एमाले निकट मेजरबहादुर खड्काले काँग्रेस निकट वसन्त ढकालसंग १४ मतको फराकिलो अन्तरले जित निकाल्नु भएको थियो ।

यसपटक दुवै मित्रबीचको प्रतिस्पर्धाले निर्वाचनलार्ई अझै रोचक बनाएको छ । यतिबेला संघभित्र दुवैको प्रभाव, अनुभव र कामप्रतिको प्रतिबद्धताले सदस्यहरूलाई आकर्षित गरिरहेको छ । कतिपय सदस्यले दुवैले संघलाई उस्तै मजबुत बनाउने क्षमतासहित उम्मेदवारी दिएको भन्दै जसले जिते पनि संघ लाभान्वित हुने विश्वास व्यक्त गरेका छन् ।

अध्यक्ष पदमा हुने यो चुनावलाई संघकै सदस्यहरूले ‘साथीबीचको स्वस्थ प्रतिस्पर्धा’ भनेका छन् । नतिजा जसतिर झुके पनि यसपटकको अधिवेशनले संघको भविष्यको दिशा निर्धारण गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया