सिन्धुली – हरिहरपुरगढी गाउँपालिका पछिल्ला दिनमा फेरि एकपटक विवादमा तानिएको छ । नयाँ प्रमुख प्रशासकीय अधिकृत अजम्बर राई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुसार भदौ ५ गते हाजिर भए पनि उहाँ उपस्थित नभएको छोटो समयमा पालिकामा अस्वाभाविक गतिविधि भएको खुलासा भएको छ ।
राई हाजिर गरेर जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा बैठकमा सिन्धुलीमाढी आउनुभएका उहाँको अनुपस्थितिमा, यसअघि निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा काम गर्दै आउनुभएका स्वास्थ्य शाखाका कर्मचारी दिपेन्द्र कुमार पैकराले त्यही अवसरमा ५०० लिटर डिजेलको कुपनमा हस्ताक्षर मात्र गर्नुभएन्, शिक्षा समितिको महत्वपूर्ण निर्णय पत्रमा समेत प्रमुख प्रशासकीय अधिकृतको हैसियतमा हस्ताक्षर गर्नुभयो ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४(४) अनुसार गाउँपालिकामा शाखा अधिकृतस्तरका प्रमुख प्रशासकीय अधिकृत खटाइने व्यवस्था छ । तर हरिहरपुरगढीमा विगत लामो समयदेखि सातौँ तहका कर्मचारी पैकरा ‘निमित्त’ प्रमुखको रूपमा चलाइँदै आउनुभएको छ ।