शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीमा मोटरसाइकल चोरी मुद्दाका फरार दोषी पक्राउ

बिहिवार , भाद्र ५, २०८२

सिन्धुली,०५ भदौ — सिन्धुलीमा करिब दुई वर्षदेखि फरार रहेका मोटरसाइकल चोरी मुद्दाका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत सिन्धुलीको फैसला अनुसार कैद र जरिवाना सजाय तोकिएका प्रतिवादीलाई प्रहरीले बिहिबार अपराह्न निजको घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी काइलय सिन्धुलीले जनाएकोे छ ।

बिहिवार दिउँसो करिब साढे तीन बजे प्रहरीले सिन्धुली नगरपालिका–८, तिनतले बस्ने निरोज थिङ (विष्णु)का थिङको घरमै खोजतलास गर्दा उनलाई नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ । पक्राउ गरेपछि उनलाई इलाका प्रहरी कार्यालय भिमानमा राखिएको छ । प्रहरीले अनुसार पक्राउ परेका थिङलाई अब जिल्ला अदालत सिन्धुलीमा पेश गरिने जनाएको छ । अदालतको आदेशअनुसार सजाय कार्यान्वयन प्रक्रिया अघि बढाइने बताइएको छ ।

जिल्ला अदालत सिन्धुलीले २०८० साल असोज १० गतेको फैसलामा लगत नं. १९९८ मा दर्ता रहेको मोटरसाइकल चोरी मुद्दामा थिङ लाई ६ दिन कैद सजाय र ८ सय रुपैयाँ जरिवाना तोकेको थियो ।

तर फैसला भएपछि उनी तत्कालै फरार भएका थिए । झन्डै दुई वर्षसम्म कैद सजाय कार्यान्वयन हुन नसकेको अवस्थामा प्रहरीले उनीविरुद्ध निरन्तर खोजी गरिरहेको थियो ।

सिन्धुली लगायतका जिल्लामा सवारी चोरीका घटनाले प्रहरीलाई विगतदेखि नै चुनौती दिँदै आएको छ । प्रहरीले भने पछिल्ला वर्षहरूमा निगरानी र खोजतलासलाई प्रभावकारी बनाउँदै ल्याएको दाबी गर्दै आएको छ।

यसरी फरार प्रतिवादी पक्राउ परेपछि प्रहरीलाई मनोबल बढेको र “फरार रहे पनि कानूनको दायरा बाहिर कोही रहन सक्दैन” भन्ने सन्देश गएको अधिकारीहरूले बताएका छन्।

तिनतलेका स्थानीयले चोरी मुद्दामा दोषी ठहर भई पनि फरार रहेका व्यक्तिलाई घरमै पक्राउ गरिएको घटनालाई स्वागत गरेका छन् । उनीहरूका अनुसार, यस किसिमका अभियुक्तहरू खुलेआम हिँड्दा सामान्य जनतामाझ डर र असुरक्षा फैलिने भएकाले अब प्रहरीको कदमले सजगता बढाउनेछ ।

यसरी, लामो समयदेखि अदालतको फैसला कार्यान्वयन नगरी फरार रहेका मोटरसाइकल चोरी मुद्दाका दोषीलाई पक्राउ गर्दै अदालतमा पेश गर्ने तयारीसँगै सिन्धुली प्रहरीले कानूनको पालना सुनिश्चित गर्ने दृढता देखाएको छ ।

प्रतिक्रिया