सिन्धुली –०५ भदौ – सिन्धुली प्रहरीले विशेष सूचनाको आधारमा सञ्चालन गरेको कारबाहीमा एक युवक लागुऔषध खैरो हिरोइनसहित पक्राउ परेका छन् । पक्राउ परेका व्यक्ति सिराहा कल्याणपुर–११ का २३ वर्षीय जितेन्द्र कुमार राउत रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
बर्दिबासबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुबाहक म.प्र.–०४–००१ ज ०१५५ नम्बरको ईभी सवारी भिमान चेकपोस्टमा जाँचका क्रममा राउतले बोकिरहेको सामानभित्र प्लास्टिकमा लुकाइएको ४१ ग्राम ७७० मिलिग्राम खैरो हिरोइन फेला परेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय भिमानले राउतलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ । प्रहरीले पक्राउ परेकासँग संलग्न अन्य व्यक्ति, आपूर्ति सञ्जाल र गन्तव्यबारे अनुसन्धान गरिरहेको जनाएको छ ।
सिन्धुलीसहितका मध्यपहाडी र तराईका जिल्लामा पछिल्लो समय लागुऔषध सेवन र कारोबार बढ्दो देखिएको छ । विशेषगरी भारततर्फको सीमावर्ती क्षेत्र हुँदै सिन्धुली भित्रिने र लागुऔषध युवाहरूको हातमा पर्नु ठूलो चुनौती बनेको छ । प्रहरीका अनुसार, “हेरोइन जस्ता घातक पदार्थ सानो मात्रामा पनि प्रयोगकर्तालाई दीर्घकालीन लतमा पार्ने भएकाले यो नियन्त्रण गर्न कडा कदम आवश्यक छ ।”
प्रहरीले लागुऔषध नियन्त्रणलाई प्राथमिकतामा राखेको बताउँदै नियमित अनुगमन, सूचनाको आदानप्रदान र स्थानीय समुदायसँग सहकार्य गरेर नियन्त्रण अभियानलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ ।
प्रहरीका अनुसार लामो समयदेखि लागुऔषधको कारोबार भइरहेको आशंका गरिएको मार्गमा निगरानी बढाइएको छे । त्यही क्रममा प्राप्त विशेष सूचनाका आधारमा चेकपोस्टमा चेकजाँच कडाइ गरिएको थियो । यसरी सूचनाको आधारमा गरिएको कारबाहीले प्रहरीको सफलताको मानक स्थापित गरेको बताइन्छ ।
भिमान चेकपोस्टमा भएको यो पक्राउले लागुऔषध कारोवार रोक्न प्रहरी सचेत रहेको स्पष्ट देखाएको छ। तर, दीर्घकालीन रूपमा यस्तो समस्या समाधान गर्न समाज, परिवार र शिक्षण संस्थाको पनि सक्रिय भूमिका आवश्यक छ भन्ने सन्देश यो घटनाले दिएको छ।