शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीमा फरार प्रतिवादी धामी पक्राउ

बिहिवार , भाद्र ५, २०८२

सिन्धुली,०५ भदौ – सवारी ज्यान मुद्दामा फरार रहेका सिन्धुली दुधौली नगरपालिका–१० मंगलपुरका ६२ वर्षीय नेत्रा धामी आफ्नै घरबाट पक्राउ परेका छन् ।

जिल्ला अदालत सिन्धुलीले गत २०८१ जेठ २८ गते दिएको फैसलाअनुसार धामीलाई ३ महिना कैद सजाय र रु. २०० क्षतिपूर्ति जरिवाना तिर्न आदेश गरिएको थियो । तर फैसला सार्वजनिक भएपछि उनी फरार भएका कारण प्रहरीले लामो समयदेखि खोजी गरिरहेको थियो ।

बुधबार बिहान करिब १०ः२० बजे प्रहरी चौकी दुधौलीले गोप्य सूचनाका आधारमा धामीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । पक्राउपछि उनलाई तत्काल प्रहरी चौकीमा ल्याइएको र अदालतको आदेशअनुसार कैद भुक्तानका लागि जेल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

“फरार प्रतिवादीलाई पक्राउ गर्ने अभियान अन्तर्गत धामीलाई पक्राउ गर्न सफल भएका छौं । अदालतको आदेश कार्यान्वयन गर्न अरू प्रतिवादीहरूमाथि पनि निगरानी जारी छ,” जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुबेदीले बताउनुभयो ।

सिन्धुली प्रहरीले अदालतको फैसला कार्यान्वयनमा कडाइ गर्ने बताएको छ । फरार रहेका अन्य प्रतिवादीलाई पनि खोजी गर्ने कार्य निरन्तर भइरहेको र कानुनबाट कोही पनि उम्कन नसक्ने चेतावनी प्रहरीले दिएको छ ।

प्रतिक्रिया