शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीमा खेतीयोग्य जमिन संकटमा, बाढी र कटानले किसान वर्षेनी मर्कामा

बिहिवार , भाद्र ५, २०८२

सिन्धुली, – सिन्धुली जिल्लाका किसान वर्षेनी दोहोरिने बाढी र नदी–खोलाको कटानका कारण खेतजग्गा गुमाउन बाध्य भएका छन् । यस वर्षको मनसुनमा पनि कमला, मरिण, चँदाहा, जिर्घा, खहरेजस्ता खोलामा पानीको बहाव तीव्र बनेपछि सयौं बिगाहा जमिन बगरमा परिणत भएको छ ।

कमलामाई नगरपालिका–१ मा मरिण खोलाको कटान विशेष रूपमा भयावह बनेको छ । वाईवाटारदेखि जखनीकुण्डसम्म फैलिएको बाढीले करिब २५० बिगाहा खेतीयोग्य जमिन कटान गरेको वडाध्यक्ष नरेश गोलेले जानकारी दिनुभयो । उहाँका अनुसार करिब १५ कठ्ठा जमिन यस वर्ष मात्र बगाएको छ र दशौँ परिवार विस्थापित हुने जोखिम बढ्दै गएको छ ।

गोलेले भन्नुभयो, “हामीले नगरपालिका र प्रशासन कार्यालय दुवैलाई लिखित निवेदन गरेर तत्काल तटबन्ध वा संरक्षणको माग गरेका छौ ं। वडाको सामान्य बजेटले यस्तो ठूलो कटान नियन्त्रण सम्भव छैन ।”

गत शनिवार दुधौली नगरपालिका–१ स्थित विचित्रा खोलामा आएको बाढीले दश घर डुबानमा पार्दै उच्च जोखिम निम्त्याएको छ । स्थानीय कमल अधिकारीका अनुसार, राति–दिन खोला बगिरहेको छ र कतिबेला घर भत्किन्छ भन्ने त्रास छ ।

यस्तै, चँदाहा, जिर्घा र अन्य साना खोलाहरूले पनि खेतीयोग्य जमिन बगरमा परिणत गर्न थालेका छन् । खोलाको धार पटक–पटक परिवर्तन हुँदा किसानले स्थायी रूपमा खेती गर्नै नसक्ने अवस्था सिर्जना भएको छ ।

स्थानीयहरूका अनुसार, बाढी–पहिरो र कटान समस्या प्राकृतिक कारण मात्र नभई मानवीय क्रियाकलापले पनि बढाएको छ । चुरे क्षेत्रको वन विनाश, जथाभावि सडक खन्ने काम, नदी–खोलाको अत्यधिक दोहनले बाढी र कटानलाई थप चर्काएको हो ।

कमलामाई–१३ निवासी शिक्षक पुजन बख्रेलले भन्नुभयो, “चुरे जंगल विनाश भएपछि हरेक वर्ष नयाँ खहरे जन्मिन्छन् । खहरे वरिपरिका बस्तीहरू सबैभन्दा बढी प्रभावित हुन्छन् ।”

तीनपाटन गाउँपालिका–१ का वडाध्यक्ष गोविन्द राउतले चँदाहा खोलाले पूर्वी सिन्धुलीको प्रमुख अन्नभण्डार बनेको तीनपाटन क्षेत्रमा ठूलो क्षति पु¥याएको बताउनुभयो । उहाँका अनुसार, विगत ३८ वर्षमा मात्र करिब १,००० बिगाहा खेतीयोग्य जमिन कटान भई बगरमा परिणत भइसकेको छ ।

राउत स्मरण गर्नुहुन्छ, “२०४१ सालमा सेती पहिरोले हाडीखोला थुनेपछि फुटेको ड्यामले तीनपाटनमा भयावह बाढी ल्यायो । त्यसयता हरेक वर्ष चँदाहा खोलाले धार परिवर्तन गर्दै जमिन कटान गर्दै आएको छ ।”

लगातारको कटानले कृषिमा निर्भर सयौं परिवार उजाडिएका छन् । अहिलेसम्म करिब २५० भन्दा बढी किसान परिवार स्थायी जमिन गुमाएर सुकुम्बासी बनेको तथ्यांक स्थानीय तहका जनप्रतिनिधिहरूले प्रस्तुत गरेका छन् । एक स्थानीय किसानले दुःख व्यक्त गर्दै भने, “हामीले खेतमा पसिना बगाएर पेट पाल्थ्यौं, तर खोलाले एकैपटक सबै बगायो। वर्षेनी खेत गुमाउँदा अब कसरी गुजारा गर्ने भन्ने चिन्ता छ ।”

कटान नियन्त्रणका लागि वडास्तरको बजेटले नभ्याउने भएकाले पालिकादेखि जिल्ला प्रशासन कार्यालयसम्म गुहार मागिएको छ । तर तत्कालीन प्रभावकारी समाधान नभए जिल्लाका प्रमुख बस्ती र खेतीयोग्य जमिन नै हराउने जोखिम बढेको जनप्रतिनिधिहरूको चेतावनी छ ।

सिन्धुलीको उर्वरभूमि वर्षेनी कटानमा परिरहेको छ, जसले किसान मात्र नभई जिल्लाको खाद्य सुरक्षा नै संकटमा पारेको छ । विस्थापनको पीडा, सरकारी नीतिगत कमजोरी र दीर्घकालीन योजनाको अभावले समस्या थप गम्भीर हुँदै गएको छ । यदि तत्कालै ठोस कदम चालिएन भने “सिन्धुलीको हरियो भण्डार” भनेर चिनिने खेत फाँट इतिहासका पानामा मात्र सीमित हुने खतरा देखिन्छ ।

प्रतिक्रिया