शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीमा ज्यानसम्बन्धी कसुरका फरार प्रतिवादी पक्राउ

बुधवार , भाद्र ४, २०८२

सिन्धुली,४ भदौ – सिन्धुली जिल्लामा लामो समयदेखि फरार रहँदै आएका ज्यानसम्बन्धी मुद्दाका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले विशेष सूचनाको आधारमा साविक तिनकन्या गा.वि.स.वडा नं.३,हाल ऐ. गोलन्जोर गाउँपालिका वडा नं.४ बस्ने ६८ वर्षीय भिम बहादुर आले मगर पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार बुधबार बिहान करिब ११ः३० बजे विशेष निगरानीमा रहेका आलेलाई घर नजिकै बारीमा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरिएको हो । दिउँसो ५ः०५ बजे फेला पारिएका उनलाई प्रहरीले नियन्त्रणमा लिएर तत्काल कारबाहीका लागि इलाका प्रहरी कार्यालय खुर्कोटमा राखिएको छ ।

जिल्ला अदालत सिन्धुली ले २०७९ साल माघ १२ गते ज्यानसम्बन्धी कसुर मुद्दामा दोषी ठहर गर्दै आलेलाई १ महिना ८ दिन कैद सजाय तोकेको थियो । तर, फैसला कार्यान्वयन हुनुअघि नै उनी फरार भएका थिए । अदालतको आदेश कार्यान्वयनमा ढिलाइ भइरहेका बेला प्रहरीले विशेष खोजी गर्दै उनलाई पक्राउ गर्न सफल भएको हो ।

प्रहरी स्रोतका अनुसार, फरार अभियुक्तलाई पक्राउ गर्न निरन्तर खोजी अभियान चलाइएको थियो । “अदालतको फैसला कार्यान्वयन नगरी लुकी छिपी बसेको अवस्थामा पक्राउ गरिएको हो,” जिल्ला प्रहरीकार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुबेदीले बताउनुभयो । उहाँका अनुसार, पक्राउ परेका आलेमाथि अब अदालत पेशगर् पछि े फैसला कार्यान्वयन हुनेछ ।

प्रहरीले फरार अभियुक्तलाई पक्राउ गर्न सफलतापूर्वक गरेको कारबाहीलाई स्थानीयले स्वागत गरेका छन्। यसले “कानुनभन्दा कोही माथि छैन” भन्ने सन्देश दिएको उनीहरूको भनाइ छ। साथै, यस किसिमका कारबाहीले जिल्लामा कानून र सुरक्षाप्रति जनविश्वास बढ्ने अपेक्षा गरिएको छ।

भिम बहादुर आले मगरको पक्राउले सिन्धुलीमा कानूनको शासन बलियो बनाउन मद्दत पुर्याएको छ। अदालतको आदेश अनुसार अब उनलाई तोकिएको कैद सजाय भोग्नुपर्नेछ । प्रहरीका अनुसार अन्य फरार अभियुक्तलाई पनि चाँडै नियन्त्रणमा लिने कार्य निरन्तर जारी रहनेछ।

प्रतिक्रिया