सिन्धुली,४ भदौ – पछिल्लो समय सिन्धुली जिल्लामा लागुऔषधको अवैध कारोबार र ओसारपसारको समस्या बढ्दै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले दिएको जानकारीअनुसार, आर्थिक वर्ष २०८१/८२ मा लागुऔषधसँग सम्बन्धित विभिन्न ४६ वटा मुद्दा दर्ता भएका छन् । यस क्रममा ९३ जना व्यक्तिलाई पक्राउ गरी कानूनी कारबाही अगाडि बढाइएको छ ।
पक्राउ परेका व्यक्तिहरूको तथ्यांकले लागुऔषधको कारोबारमा पुरुष मात्र नभई महिला र तेस्रोलिङ्गीको पनि संलग्नता रहेको देखाएको छ । प्रहरीका अनुसार, पक्राउ परेका ९३ जनामध्ये ८४ जना पुरुष, ७ जना महिला र २ जना तेस्रोलिङ्गी पुरुष छन् । यसबाहेक, यस कार्यमा संलग्न ४ जना भने अझै फरार रहेको र उनीहरूको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीले विभिन्न स्थानमा गरेको छापा र अनुसन्धानका क्रममा ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ । बरामद भएका लागुऔषधमध्ये ३८४ ग्राम २३३ मिलिग्राम खैरो हेरोइन र २९४ किलो ६९४.३४१ ग्राम गाँजा जस्ता कडा लागुऔषध रहेका छन् । यसबाहेक, ३१९१० पिस ट्याब्लेट र ९४ बोतल (WINCEREX २१ बोतल रExiplon New ७३ बोतल) पनि बरामद भएको छ । यसले जिल्लामा ट्याब्लेट र झोल पदार्थका रूपमा पनि लागुऔषधको प्रयोग बढ्दै गएको संकेत गर्छ ।
लागुऔषधको बढ्दो प्रयोगले विशेषगरी युवा पुस्तालाई बढी जोखिममा पारेको देखिन्छ । यसको कारोबार र दुव्र्यसनीले सामाजिक र पारिवारिक सम्बन्धमा मात्र असर नपारी विभिन्न आपराधिक घटनाहरूलाई पनि बढावा दिने गरेको प्रहरीको भनाइ छ । प्रहरीले लागुऔषध नियन्त्रणका लागि विशेष अभियान चलाउनुका साथै, यसको रोकथामका लागि जनचेतना कार्यक्रमहरू पनि सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।
लागुऔषधको कारोबारमा संलग्न व्यक्तिहरूलाई कडा भन्दा कडा कारबाही गरिने र यसको सञ्जाल तोड्नका लागि प्रहरीले थप सक्रियता देखाउने प्रतिबद्धता व्यक्त गरेको छ ।