सिन्धुली, ३ भदौ– हातहतियार खरखजना मुद्दामा जिल्ला अदालत सिन्धुलीबाट दोषी ठहर भई लामो समयदेखि फरार रहेका एक फरार प्रतिवादीलाई सिन्धुली प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार, जिल्लाको कमलामाई नगरपालिका–१३, माथिल्लो रानिबास निवासी ५१ वर्षीय केशव हायुलाई प्रहरीले सोमवार साँझ ७ः०० नियन्त्रणमा लिएको हो ।
हायुलाई सिन्धुली जिल्ला अदालतले २०८१ जेठ १६ गतेको फैसलाअनुसार हातहतियार खरखजना मुद्दामा २ महिना २६ दिन कैद सजाय सुनाएको थियो । फैसलापछि फरार रहेका उनी लामो अनुसन्धान र खोजतलासपछि पक्राउ परेका हुन् ।
प्रहरी नियन्त्रणमा आएपछि हायुलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी मंगलवार जिल्ला अदालत सिन्धुलीमा पेश गरिएको थियो । अदालतको आदेशपश्चात् उनलाई फैसला कार्यान्वयनका लागि सिन्धुली कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले फरार अभियुक्तहरूको खोजीलाई प्राथमिकतामा राखेको र यस प्रकारका अभियानलाई निरन्तरता दिने बताएको छ ।