शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीमा वन पैदावार चोरी मुद्दाका फरार अभियुक्त पक्राउ

मंगलवार , भाद्र ३, २०८२

सिन्धुली,३ भदौ – वन पैदावार चोरी तथा ओसारपसारको मुद्दामा फरार रहँदै आएका एक अभियुक्तलाई सिन्धुली प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका–१०, कुलोखोला बस्ने अन्दाजी ३३ वर्षीय जनकबहादुर सार्की रहेका छन् । उहाँलाई प्रहरीले उहाँकै घरबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार, सार्कीले बिना इजाजत सालको काठ ओसारपसार गरेको मुद्दामा सिन्धुली जिल्ला अदालतले २०८० मंसिर २६ गते उहाँलाई दोषी ठहर गरेको थियो । अदालतको फैसलाअनुसार, उहाँलाई तीन दिन कैद र आठ हजार रुपैयाँ जरिवाना तोकिएको थियो। अदालतको फैसलालगत्तै उहाँ फरार हुनुभएको थियो ।

लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहनुभएका सार्कीलाई विशेष सूचनाको आधारमा उहाँको घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका सार्कीलाई इलाका प्रहरी कार्यालय भिमानमा राखिएको प्रहरीले जनाएको छ । पक्राउ परेका सार्कीलाई थप कारबाहीका लागि आवश्यक प्रक्रिया पूरा गरी अदालतमा पेस गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया