शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीका सडकः विकासको नाममा लगानीको बर्बादी, नचल्दै भत्किए सडकहरू

मंगलवार , भाद्र ३, २०८२

सिन्धुली,३ भदौ — सिन्धुलीमा लाखौँ र करोडौँ रुपैयाँ खर्च गरेर निर्माण गरिएका सडकहरू सवारी साधन चल्न नपाउँदै भत्किएर लथालिङ्ग अवस्थामा पुगेका छन् । गत आर्थिक वर्ष २०८१÷०८२ मा संघीय, प्रदेश र स्थानीय सरकारको लगानीमा निर्माण गरिएका दर्जनौँ सडकहरू अहिले कमजोर गुणस्तर र अव्यवस्थित निर्माणका कारण काम नलाग्ने भएका छन् ।

बीपी राजमार्गअन्तर्गत कमलामाई नगरपालिकाको चियाबारीदेखि केवरे हुँदै बाँसकटेरीसम्मको १२ किलोमिटर सडक यसको ज्वलन्त उदाहरण हो । विगत चार वर्षदेखि यो सडकमा बर्सेनि झन्डै २ करोड रुपैयाँका दरले हालसम्म ८ करोड रुपैयाँ खर्च भइसकेको छ । तर, केवरेका स्थानीय कुमार श्रेष्ठका अनुसार, ठेकेदारले कमसल काम गरेकाले सडकको अवस्था दयनीय छ । उहाँले भन्नुभयो, “ठेकेदारले राम्रो काम नगरेपछि हामीले धेरै पटक पर्खालहरू भत्काएका थियौँ । तर अहिले बनेको पर्खाल पनि उस्तै छ ।” उहाँजस्ता स्थानीयको गुनासो छ, “बजेट सक्नका लागि हचुवाको भरमा काम गरिन्छ र ठेकेदारले आफ्नो मात्र फाइदा हेर्छन् ।”

सिन्धुलीको जुनार उत्पादनको मुख्य क्षेत्र खनियाखर्कदेखि धापचौकीसम्मको २६ किलोमिटर सडकको अवस्था पनि नाजुक छ । हिर्दिङका स्थानीय विनोद थापाले बर्सेनि ३० करोड रुपैयाँको जुनार बोकेर हिँड्ने यो सडकको पाँच वर्षदेखि कुनै निकायले मर्मतमा ध्यान नदिएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “राजमार्गबाट भित्र छिर्ने यो मूल सडकमा बजेट नै आउँदैन, तर पहुँचको आधारमा अन्य शाखा सडकहरूमा बजेट ओइरिएको छ ।” अहिले स्थानीयहरू आफैँले कोदालो लिएर खाल्डा पुर्ने र सडक मर्मत गर्ने काम गरिरहेका छन् ।

पूर्वाधार विकास कार्यालयका अनुसार, गत आर्थिक वर्षमा मात्रै बागमती प्रदेश सरकारको सहयोगमा ७२ वटा सडक योजना सञ्चालन गरिएको थियो, जसमध्ये ५१ वटा सम्पन्न भएका छन् । तर, सम्पन्न भएका सडकको गुणस्तरमा भने गम्भीर प्रश्न उठेको छ ।

जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कार्सङ लामाले सडक निर्माणको काममा दिगोपना नदेखिएको बताउनुभयो । “काम भएको जस्तो देखिन्छ, तर गुणस्तर छैन,” उहाँले भन्नुभयो, “हिउँदमा यातायात चल्छ, तर वर्षा सुरु भएपछि बिग्रिएर ठप्प हुन्छ ।” उहाँले पालिकाहरूले बनाएका सडकमा अझ बढी समस्या देखिएको र आर्थिक वर्षको अन्तिममा बजेट सक्नका लागि मात्र काम गर्ने प्रवृत्तिले यो समस्या निम्त्याएको बताउनुभयो ।

समग्रमा, सिन्धुलीमा सडक निर्माणका नाममा भएको लगानीको ठूलो हिस्सा भ्रष्टाचार र अव्यवस्थित निर्माणका कारण खेर गइरहेको छ । यसले विकास निर्माणमा पारदर्शिताको अभाव र जनप्रतिनिधि तथा ठेकेदारबीचको मिलेमतोलाई उजागर गरेको छ । सडकको यो दयनीय अवस्थाले जनताको दैनिकीलाई कष्टकर बनाएको छ भने सरकारको कार्यशैलीमाथि पनि गम्भीर प्रश्न खडा गरेको छ ।

प्रतिक्रिया