शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीमा तीजको रौनकः परम्परा र आधुनिकताको संगम

मंगलवार , भाद्र ३, २०८२

सिन्धुली ,३ भदौ— सिन्धुलीमा यतिबेला हरितालिका तीजको रमझम सुरु भएको छ । भदौ १० गतेका लागि निर्धारित तीज पर्व आउन अझै करिव एक हप्ता बाँकी छँदै जिल्लाका ग्रामीणदेखि सहरी क्षेत्रसम्म यसको रौनक छाएको छ। महिला समूहहरू र विभिन्न संघसंस्थाहरूले शुभकामना आदानप्रदानका साथै दर खाने कार्यक्रम आयोजना गर्न थालेका छन् ।

सिन्धुलीमाढी, दुधौली, चकमके लगायतका मुख्य बजार क्षेत्रमा महिलाहरूको चहलपहल बढेको छ । रातो, हरियो र पहेँलो रंगका नयाँ पहिरन र गहना पसलहरूमा ग्राहकहरूको घुइँचो लागेको छ। एक दशकअघिसम्म तीजलाई तीन दिनमै सीमित गर्ने चलन थियो, तर अहिले यसको तयारी महिना दिनअघिदेखि नै सुरु हुन थालेको छ ।

यसपटक तीजको दर खाने कार्यक्रमका लागि सिन्धुलीका होटल, रिसोर्ट र पार्टी प्यालेसहरू बुकिङ हुन थालेका छन् । सिन्धुलीमाढीका होटल प्रयासका सञ्चालक नेत्रजंग थापाका अनुसार, समूहमा मिलेर दर खाने र तीजका गीतमा नाच्ने चलनले गर्दा होटलको माग ह्वात्तै बढेको छ। “जिल्लाका ठूला होटल, रिसोर्ट र पार्टी प्यालेसहरूमा अहिले महिला दिदीबहिनीको समूह देखिन्छ,“ उहाँले भन्नुभयो । यो फेसनले आधुनिक जीवनशैली र तीजको परम्परालाई जोडेको देखिन्छ ।

एक शिक्षिका सरिता कार्कीले सहरी वातावरणमा फेसन र प्रतिस्पर्धाका कारण तीज महँगो बन्दै गएको अनुभव सुनाउनुभयो । उहाँले पहिला १०० रुपैयाँमा हातभरि चुरा लगाउन पाइने गरेकोमा अहिले एउटै चुरालाई २००–३०० रुपैयाँ पर्ने गरेको बताउनुभयो । “पहिले माइत गएर परिवारसँग रमाइलो गर्दै व्रत बस्ने चलन थियो,“ उहाँ भन्नुहुन्छ, “अहिले तीज गहना र सारीको फेसन जस्तो मात्रै भएको छ ।” यद्यपि, उहाँ घरमै परिवारका सदस्यहरूलाई बोलाएर रमाइलो गर्दै तीज मनाउने गरेको बताउनुहुन्छ ।

नेपाली हिन्दु परम्पराअनुसार, अविवाहित महिलाले सुयोग्य पति प्राप्तिका लागि र विवाहित महिलाले पतिको दीर्घायु र परिवारको प्रगतिको कामना गर्दै तीजको व्रत बस्ने गर्दछन् । यसको अघिल्लो दिन राति दर खाने चलन छ, जसलाई हिन्दू महिलाहरूको लागि विशेष महत्वको दिन मानिन्छ। दरमा आफ्ना क्षमताअनुसारका मिठा परिकारहरू पकाएर खाइन्छ र रातभर नाचगान गरिन्छ । साथै, आफ्ना दुःख–सुखका कुराहरू साटासाट गर्ने र माइतीमा गएर दुःख बिसाउने चलन पनि छ ।

समयको परिवर्तनसँगै नेपाली समाजको जीवनशैलीमा आएको परिवर्तनले चाडपर्व मनाउने तरिकामा पनि ठूलो फेरबदल ल्याएको छ । यसले गर्दा केही वर्षयता तीजको दर खाने र खुवाउने परम्परा एक दिनमा सीमित नभई महिनौँसम्म चल्न थालेको छ । यो परिवर्तनलाई कतिपयले सकारात्मक रूपमा लिने गरे पनि ठूलो जमातले यसलाई तीजको मौलिकतामा आएको विकृतिको रूपमा विश्लेषण गर्ने गरेको छ ।

प्रतिक्रिया