शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

लागुऔषधको ‘ट्रान्जिट’ बनेको दुधौलीमा नेविसंघ नेता पक्राउ

सोमवार , भाद्र २, २०८२

सिन्धुली, २ भदौ – पछिल्लो समय सिन्धुलीको दुधौली क्षेत्र लागुऔषध कारोबारको केन्द्र (ट्रान्जिट पोइन्ट) बन्दै गएको तथ्यांक सार्वजनिक भइरहेका बेला नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का एक स्थानीय नेता लागुऔषध कारोबारमा पक्राउ परेका छन् । यस घटनाले राजनीतिक आवरणमा भइरहेका आपराधिक गतिविधिमाथि गम्भीर प्रश्न उठाएको छ ।

गत स्ववियु निर्वाचनमा दुधौलीस्थित कमला बहुमुखी क्याम्पसबाट नेविसंघको तर्फबाट सभापति पदका उम्मेदवार रहेका सुशील कपडीलाई प्रहरीले अवैध लागुऔषधको कारोबार गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो । कपडीसँगै उदयपुर कटारी नगरपालिका–३ निवासी मनोज कार्की पनि पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्यप्रकाश सुवेदीका अनुसार, सोमबार बिहान प्रहरी चौकी दुधौलीका इन्चार्ज वरिष्ठ सहायक निरीक्षक कमलबहादुर शाहीको कमाण्डमा खटिएको टोलील कपडीको घरमा गरिएको खानतलासीको क्रममभा उनीहरूको साथबाट १३ बोतल प्रतिबन्धित औषधि ओनिरेक्स सहित उनीहरूलाई पक्राउ गरेको हो ।

दुधौली नगरपालिका र आसपासका क्षेत्रहरूमा पछिल्लो समय लागुऔषधको अवैध कारोबार तीव्र रूपमा बढिरहेको छ । यस क्षेत्रलाई लागुऔषध ओसारपसार गर्ने ‘ट्रान्जिट’को रूपमा प्रयोग गरिँदै आएको प्रहरीको तथ्यांकले देखाउँछ । यसै कारण, प्रहरीले यस क्षेत्रमा निगरानी बढाएको थियो । सोही क्रममा कपडी र कार्कीलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

एक विद्यार्थी नेता नै लागुऔषध कारोबारमा संलग्न भएको खबरले स्थानीय समुदाय र राजनीतिक दलका कार्यकर्ताहरूमा चिन्ता बढाएको छ । यसले गर्दा युवा पुस्तामा लागुऔषधको बढ्दो प्रयोग र यसमा राजनीतिको संलग्नताको विषयमा बहस सुरु भएको छ । यस घटनाले राजनीतिक दलहरूले आफ्ना भातृ संगठन र युवा नेताहरूको निगरानी र नैतिक शिक्षामा ध्यान दिनुपर्ने आवश्यकता औंल्याएको छ ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय डकाहामा राखिएको छ । उनीहरूमाथि लागुऔषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । यो घटनाले दुधौली क्षेत्रमा मात्र नभई सम्पूर्ण सिन्धुली जिल्लामा लागुऔषधको अवैध कारोबार रोक्न थप कडा कदम चाल्नुपर्ने आवश्यकता देखाएको छ ।

प्रतिक्रिया