शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

कमलामाई नगरपालिकामा पूर्वाधार विकाससम्बन्धी अभिमुखीकरण

सोमवार , भाद्र २, २०८२

सिन्धुली,२ भदौ – कमलामाई नगरपालिकाले पूर्वाधार विकासका कामलाई थप प्रभावकारी बनाउन नगरका इन्जिनियर र वडामा कामकाजका लागि खटाइएका प्राविधिक कर्मचारीहरुको लागि एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । नगर प्रमुख उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यमा आयोजित यस कार्यक्रमले प्राविधिक टोलीको दक्षता अभिवृद्धि गर्न र योजनाबद्ध रूपमा काम अगाडि बढाउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

नगरपालिकाको पूर्वाधार विकास शाखा र वडा कार्यालयहरूमा कार्यरत इन्जिनियर, सब–इन्जिनियर र असिस्टेन्ट सब–इन्जिनियर गरी २१ जना कर्मचारीहरूको सहभागिता रहेको उक्त कार्यक्रमको मुख्य उद्देश्य उनीहरूको प्राविधिक ज्ञानलाई अद्यावधिक गर्नुका साथै नगरपालिकाका विकासका लक्ष्यहरूलाई साझा गर्नु थियो । प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नगर उप–प्रमुख मञ्जु देवकोटाको पनि विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले विकास निर्माणका काममा प्राविधिक कर्मचारीहरूको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले गरेका हरेक विकासका कामको गुणस्तर प्राविधिक साथीहरूको काममा निर्भर गर्छ । त्यसैले, तपाईँहरूले इमान्दारी र लगनशीलताका साथ काम गर्नुभयो भने मात्रै हाम्रो नगर समृद्ध बन्न सक्छ ।”

नगर उप–प्रमुख मञ्जु देवकोटाले पनि पूर्वाधारका कामहरूमा पारदर्शिता र जवाफदेहिता अपरिहार्य रहेकोमा जोड दिनुभयो । कार्यक्रममा सहभागी कर्मचारीहरूले पनि आफूहरूले नगरपालिकाको विकासका लागि उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । उनीहरूले यस्ता अभिमुखीकरण कार्यक्रमले काम गर्ने जोश र जाँगर बढाउनुका साथै नयाँ प्रविधिबारे जानकारी प्राप्त गर्न मद्दत पुग्ने बताए ।

पूर्वाधार विकास शाखा प्रमुख विनोद खकुरालले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो भने आर्थिक प्रशासन शाखा प्रमुख टेकेन्द्र कुमार कार्की र प्रशासन शाखा प्रमुख सुशील कुमार वर्मा लगायतको पनि उपस्थिति रहेको थियो ।

यो अभिमुखीकरण कार्यक्रमले कमलामाई नगरपालिकामा विकास निर्माणको कामलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने विश्वास गरिएको छ । नगर नेतृत्वले यसरी प्राविधिक टोलीको क्षमता विकासमा ध्यान दिँदा नगरपालिकाको विकासले थप गति लिने आशा गर्न सकिन्छ ।

प्रतिक्रिया