शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

 सिन्धुलीको मरिणमा १२ वर्षपछि बलेको बत्तीको ‘उदघाटन’

सोमवार , भाद्र २, २०८२

सिन्धुली,२ भदौ – सिन्धुलीको मरिण गाउँपालिकामा बिजुलीको लाइन विस्तार भएको १२ वर्षपछि उज्यालो वडा घोषणा गरिएपछि यसको चर्को आलोचना भएको छ । ‘बाली गइसकेपछि मात्र धान काटियो’ भने झैँ जनप्रतिनिधि र कर्मचारीहरूले गाउँपालिका कार्यालयको काम छाडेर र शिक्षकहरूले पठनपाठन बन्द गरेर ‘उदघाटन’ मा सहभागी हुँदा सेवाग्राहीहरू मारमा परेका छन् ।

मरिण गाउँपालिकाको वडा नम्बर ६ मा १२ वर्षअघि नै बिजुलीको लाइन विस्तार भएर बत्ती बलेको थियो । तर, यसको औपचारिक उदघाटन भने सोमवार मात्रै गरिएको छ । गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरू कार्यालयको महत्वपूर्ण काम बन्द गरेर यो कार्यक्रममा सहभागी भएका थिए । यसले गर्दा गाउँपालिकामा दैनिक सेवा लिन आएका सयौं सेवाग्राहीहरू निराश भई रित्तो हात फर्कन बाध्य भए । एक स्थानीय सेवाग्राहीले गुनासो गर्दै भने, “सानो कामका लागि टाढाबाट आएको, तर यहाँ आएर कार्यालयमा कोही भेटिएन । १२ वर्षअघि नै बत्ती बलेको कुराको अहिले उदघाटन गर्नु कत्तिको जरुरी थियो र ? हाम्रो काम रोकिएपछि त्यसको जिम्मेवारी कसले लिन्छ ?“

गाउँपालिकाका कर्मचारी मात्र नभएर स्थानीय विद्यालयका शिक्षकहरू पनि विद्यालयमा पठनपाठन छाडेर उदघाटन कार्यक्रममा सहभागी भएका थिए । यसले विद्यार्थीको पढाइमा प्रत्यक्ष असर परेको छ । शिक्षक आन्दोलनवछि बल्लतल्ल नियमित भएको पढाइमा यस्ता कार्यक्रमले फेरि बाधा पु¥याएको अभिभावकहरूको भनाइ छ । एक अभिभावकले आक्रोश व्यक्त गर्दै भने, “बच्चाहरूको पढाइको जिम्मेवारी कसले लिने ? बत्तीको उदघाटन गर्न गएर विद्यार्थीको भविष्यमाथि खेलवाड गर्नु कति जायज हो ? यो त सरासर विद्यार्थीमाथि अन्याय हो ।”

यसरी १२ वर्षपछि भएको ’ढिलो’ उदघाटनको विषयमा जनप्रतिनिधिहरूले भने आफ्नो बचाउ गर्दै आएका छन् । गाउँपालिकाका एक जनप्रतिनिधिले पुरानो नेतृत्वले गर्न नसकेको काम आफूहरूले अहिले पूरा गरेको भन्दै आफ्नो कामको प्रशंसा गर्न खोजेका छन् । तर, सामाजिक सञ्जाल र स्थानीय समुदायमा भने यसको चर्को आलोचना भइरहेको छ । मानिसहरूले जनप्रतिनिधिहरूले कामभन्दा बढी प्रचारप्रसारमा ध्यान दिएको आरोप लगाएका छन् । उनीहरूले यसरी ‘पुरानो कामको जस लिने’ प्रयास गर्दा जनताको दैनिक काममा बाधा पुगेको भन्दै आपत्ति जनाएका छन् ।

यो घटनाले स्थानीय सरकारको प्राथमिकता र कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको छ । जनतालाई सहज सेवा प्रदान गर्नुको सट्टा अनावश्यक कार्यक्रमहरूमा समय खर्च गर्दा त्यसको प्रत्यक्ष मारमा सेवाग्राहीहरू परेका छन् । यसले जनप्रतिनिधिहरूलाई आफ्नो जिम्मेवारीप्रति गम्भीर हुन र जनताको कामलाई प्राथमिकतामा राख्न आवश्यक रहेको सन्देश दिएको छ ।

प्रतिक्रिया