शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीका हायु समुदायको वास्तविक पहिचान

सोमवार , भाद्र २, २०८२

सिन्धुली, – केही समयअघि अन्धविश्वासका कारण पोखरा पलायन भएको खबर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आलोचनाको शिकार बनेका सिन्धुलीको गोलन्जोर गाउँपालिकाको हायु समुदायको वास्तविकता त्यसभन्दा धेरै माथि रहेको पाइएको छ । उनीहरूलाई ‘भत्तामा मात्र निर्भर’ समुदायको रूपमा चित्रण गरेर गरिएको टिप्पणी र आक्रोशभन्दा पर, यो समुदायले शिक्षा, रोजगार, व्यवसाय र खेलकुदका क्षेत्रमा आफ्नो पौरख र योगदान स्थापित गर्दै आएको छ ।

गोलन्जोर गाउँपालिकाभित्रै हायु समुदायका व्यक्तिहरूले महत्वपूर्ण र सम्मानित पदहरूमा रहेर समाजको सेवा गरिरहेका छन् । लक्ष्मण हायु खुर्कोटस्थित भीमज्योति क्याम्पसको नेतृत्व सम्हालिरहनुभएको छ । त्यस्तै, युवा इन्जिनियरहरू सुदीप हायु र दुर्गा हायु गाउँपालिकाकै विकास निर्माणका काममा सब–इन्जिनियरको भूमिका निर्वाह गरिरहनुभएको छ । दुर्गा हायु त आफ्नो उत्कृष्ट कार्यसम्पादनका लागि गाउँपालिकाको ‘उत्कृष्ट कर्मचारी’ को रूपमा सम्मानित पनि भइसक्नु भएको छ । स्वास्थ्य सेवाको क्षेत्रमा पनि चन्दाकला हायु, सुमती हायु र संगीता हायुले स्थानीय विद्यालयहरूमा नर्सको रूपमा समुदायभित्रै स्वास्थ्य सेवा प्रदान गर्दै आउनुभएको छ ।

यो समुदाय सरकारी जागिरमा मात्र सीमित नभएर आर्थिक रूपमा पनि आत्मनिर्भर बन्ने प्रयासमा लागेको छ । गोलन्जोरकै हायु परिवारले जुनार र सुन्तला उत्पादन गरी लाखौंको कारोबार गर्दै आएका छन् । यसले उनीहरूलाई आर्थिक रूपमा मात्र नभएर कृषि उद्यमीका रूपमा पनि स्थापित गरेको छ ।

यसैगरी, खेलकुदको क्षेत्रमा पनि हायु समुदायले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान बनाएका छन् । करातेका राष्ट्रिय खेलाडी भुवन हायुले अन्तर्राष्ट्रिय स्तरमा दर्जनौं पदक जितेर देशको गौरव बढाउनुभएको थियो । यद्यपि, रोजगारीको अभावका कारण उहाँले अहिले विदेशिनु परेको अवस्थाले स्थानीय सरकारको ध्यान खिच्नुपर्ने आवश्यकता देखाएको छ । गाउँपालिकाले यस्ता प्रतिभाहरूलाई स्वदेशमै रोक्नका लागि उचित योजना बनाउन नसकेकोमा स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।

नेपालभर करिब ३ हजार मात्र हायु रहेकामा सिन्धुलीमा मात्रै १७ सयको हाराहारीमा छन् । तीमध्ये करिब ५ सय हायु गोलन्जोर गाउँपालिकामा बसोबास गर्छन् । लोपोन्मुख जाति भएकाले सरकारले २०६७ सालदेखि उनीहरूको संरक्षणका लागि भत्ताको व्यवस्था गरेको हो । यो भत्ता उनीहरूको जीविकोपार्जनमा सहयोग पु¥याउनका लागि हो, न कि काम नगरी बस्नका लागि ।

समाजमा गरिएको आलोचनाले हायु समुदायको वास्तविक पहिचानलाई ओझेलमा पारेको देखिन्छ । उनीहरूले शिक्षा, रोजगारी, व्यवसाय र खेलकुदजस्ता विभिन्न क्षेत्रमा आफ्नो पौरख र इमानदारी प्रमाणित गर्दै देशको विकासमा योगदान दिइरहेका छन् । केवल भत्ताको भरमा बाँच्ने भनेर उनीहरूलाई हेर्नु उनीहरूको मेहनत र योगदानको अपमान हुनेछ । यसले गर्दा सरकार र समुदाय दुवैले हायु समुदायको यथार्थलाई बुझेर उनीहरूको प्रतिभा र क्षमताको सही सदुपयोग गर्नुपर्ने आवश्यकता देखिएको छ । सिन्धुली मंसिर चारले आफ्नोे फेसबुकपेजमा पोष्टलाई आधारमानी आधारमा तयार पारिएको समाचार ।

प्रतिक्रिया