शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

 हुलाक कार्यालय सिन्धुलीमा ’स्मार्ट पोस्टल सर्भिस’को सुरुवात, सर्वसाधारणलाई सहज

आइतवार , भाद्र १, २०८२

सिन्धुली, १ भदौ – सिन्धुली जिल्ला हुलाक कार्यालयले आजदेखि गोश्वरा हुलाक कार्यालय डिल्लिबजारका प्रमुख लिला बल्लभ न्यौपानेको उपस्थितिमा ’स्मार्ट पोस्टल सर्भिस’ सञ्चालनमा ल्याएको छ । कमलामाई नगरपालिकाका मेयर श्री उपेन्द्रकुमार पोखरेलले एक कार्यक्रमका बीच उक्त सेवाको औपचारिक उदघाटन गर्नुभएको छ । आधुनिक प्रविधियुक्त यो सेवाले सर्वसाधारणलाई विभिन्न सरकारी तथा वित्तीय काममा सहजता ल्याउने अपेक्षा गरिएको छ ।

नागरिकहरूलाई विभिन्न सरकारी सेवाहरूका लागि सहयोग पुर्याउने उद्देश्यले यो सेवा सुरु गरिएको हो । ’स्मार्ट पोस्टल सर्भिस’ले मुख्यतया तीनवटा महत्वपूर्ण सेवाहरू निःशुल्क प्रदान गर्नेछ । यसअन्तर्गत राष्ट्रिय परिचयपत्र र राहदानी ) को आवेदन फारम भर्ने काम निःशुल्क रूपमा गरिदिने व्यवस्था मिलाइएको छ । यसबाट फारम भर्न नजान्ने वा इन्टरनेटको पहुँच नभएका नागरिकहरूलाई ठूलो राहत मिल्ने विश्वास गरिएको छ ।

यो सेवाको अर्को महत्वपूर्ण पक्ष भनेको विभिन्न युटिलिटी बिल भुक्तानीको सहजीकरण गर्नु हो । यस केन्द्रबाट अब सर्वसाधारणले बिजुलीको बिल, खानेपानीको बिल र अन्य सार्वजनिक सेवाहरूको भुक्तानी गर्न सक्नेछन् । यसले ग्रामीण क्षेत्रबाट सदरमुकाम आएका नागरिकहरूलाई लामो लाइन बस्नुपर्ने झन्झटबाट मुक्ति दिनेछ ।

स्मार्ट पोस्टल सर्भिसको उदघाटन गर्दै मेयर पोखरेलले हुलाक सेवालाई समयअनुसार आधुनिकीकरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “हुलाक कार्यालयले अब चिठीपत्र मात्र नभएर नागरिकहरूलाई आवश्यक पर्ने आधुनिक सेवाहरू पनि प्रदान गर्नुपर्छ । यो स्मार्ट सेवाले सिन्धुलीका नागरिकहरूलाई सरकारी काममा लाग्ने समय र खर्च दुवै बचाउन मद्दत गर्नेछ ।”

जिल्ला हुलाक कार्यालयका सिन्धुलीका प्रमुख कुमार थापाले यो सेवाको विस्तारले कार्यालयको छविमा सुधार आउने र आम नागरिकसँगको सम्बन्ध अझ प्रगाढ हुने बताउनुभयो । उहाँले भविष्यमा थप सेवाहरू पनि थप्दै लैजाने योजना रहेको जानकारी दिनुभयो ।

यस सेवालाई प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि जिल्ला हुलाक कार्यालयले आवश्यक कम्प्युटर उपकरणहरू र इन्टरनेटको व्यवस्था गरेको छ । सेवा प्रदान गर्नका लागि चार जना दक्ष कर्मचारीहरू खटिनेछन् । उनीहरूले नागरिकहरूलाई फारम भर्ने, कागजात जाँच गर्ने र भुक्तानी प्रक्रियामा सहयोग गर्नेछन् । यस सेवाको सुरुवातले हुलाक कार्यालयलाई नयाँ भूमिकामा स्थापित गर्ने र डिजिटल नेपालको परिकल्पनालाई साकार पार्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया