सिन्धुली, १ भदौ – सिन्धुलीको कमलामाई नगरपालिका–४ च्याउकोटमा करिब साढे दुई करोड रुपैयाँको लागतमा निर्मित सिद्धबाबा भ्यू टावर सञ्चालनमा नआउँदै जीर्ण बन्न पुगेको छ । प्रदेश सरकारले गौरवको योजनाका रूपमा बनाएको यो संरचना अहिले असामाजिक क्रियाकलाप र लागुपदार्थ सेवनको अखडा बनेको छ, जसले सरकारी सम्पत्तिको दुरूपयोग भएको स्पष्ट देखाउँछ ।
टावरको निर्माण कार्य पूरा भएपछि यसको सञ्चालन र रेखदेखमा स्थानीय तथा प्रदेश सरकारको उदासीनताले गर्दा यो अवस्था सिर्जना भएको हो । भ्यू टावरको वरपर खुला र असुरक्षित वातावरण भएकाले साँझ परेपछि यो स्थान लागुपदार्थ सेवन गर्ने र अश्लील क्रियाकलापमा संलग्न हुनेहरूको आश्रयस्थल बनेको छ ।
लाखौं रुपैयाँ खर्च गरेर बनाइएका संरचनाहरू अहिले तोडफोडको सिकार भएका छन् । टावरका झ्यालका सिसाहरू फुटाल्ने, भित्री संरचनामा क्षति पुर्याउने र अन्य सामग्रीहरू चोरी गर्नेजस्ता घटनाहरू सामान्य बनेका छन् । यसको रेखदेखका लागि कुनै पनि सुरक्षाकर्मी वा हेरालु राखिएको छैन ।
यसको जिम्मा कसले लिने भन्ने विषयमा प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वयको अभाव देखिएको छ । एकातर्फ प्रदेश सरकारले योजना बनायो तर त्यसको संरक्षणको दायित्व स्थानीय सरकारलाई हस्तान्तरण गरेन, अर्कोतर्फ स्थानीय सरकारले पनि पहलकदमी लिएको देखिँदैन । यो विवादको परिणामस्वरूप सरकारी सम्पत्ति नष्ट भइरहेको छ ।
भ्यू टावरको यो दुरवस्था देखेर स्थानीय बासिन्दा चिन्तित र आक्रोशित बनेका छन् । उनीहरूका अनुसार, यो स्थान पर्यटकका लागि आकर्षक गन्तव्य बन्न सक्थ्यो । यसले स्थानीय अर्थतन्त्रमा पनि योगदान पुग्ने आशा थियो । तर, अहिले यसको अव्यवस्थाले गर्दा पर्यटकहरूलाई आकर्षित गर्नुको सट्टा नकारात्मक सन्देश गइरहेको छ ।
“करोडौं रुपैयाँको लगानीमा बनेको संरचनाको यस्तो दुरवस्था देख्दा दुःख लाग्छ,“ एक स्थानीयले भने, “सरकारले बनायो तर त्यसको संरक्षणको जिम्मेवारी कसैले पनि लिएन ।“
स्थानीय बासिन्दाले अब तत्काल भ्यू टावरको संरक्षण र व्यवस्थापनको जिम्मा कसैलाई दिनुपर्ने माग गरेका छन् । अन्यथा यो संरचना पूर्ण रूपमा नष्ट हुने र यसमा गरिएको लगानी व्यर्थ जाने उनीहरूको भनाइ छ । यसले सरकारी योजनाहरूको दिगोपनामाथि पनि गम्भीर प्रश्न उठाएको छ ।