सिन्धुली, १ भदौ – नेकपा एमालेका केन्द्रीय सदस्य तथा सिन्धुली जिल्ला इन्चार्ज मनोजजंग थापाले ’उँट’ प्रवृत्तिले राजनीतिक दलहरू कमजोर हुने र देशको विकास तथा समृद्धिमा बाधा पुग्ने बताउँनुभएको छ । उहाँले आफ्नो धरातलीय यथार्थलाई बुझ्न नसक्ने र आफूलाई नै सबैभन्दा अब्बल ठान्ने व्यक्तिहरूलाई ‘उँट’ को संज्ञा दिनुभएको छ ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता थापाले यस्ता प्रवृत्ति भएका व्यक्तिहरू अहिले पार्टी राजनीति र समाजमा प्रशस्तै देखिएको बताउँनुभएको छ । थापाका अनुसार, ‘उँट’ जस्तै आफू अग्लो भएको घमण्ड गर्ने तर पहाडको सामुन्ने पुगेपछि मात्र आफूभन्दा धेरै अग्ला पनि हुने रहेछन् भन्ने यथार्थ थाहा पाउने प्रवृत्तिका व्यक्तिहरूले राजनीतिलाई गलत दिशामा लैजान्छन् ।
थापाले देशलाई ‘समृद्ध र सुखी’ बनाउनका लागि आवश्यक पर्ने राष्ट्रिय राजनीतिमा विजय हासिल गर्न ‘उँट’ प्रवृत्तिका पात्रहरूबाट आन्दोलनलाई पूर्ण रूपमा जोगाउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले यदि यस्तो प्रवृत्तिलाई समयमै नियन्त्रण गर्न नसकिए भविष्यमा पछुताउनुबाहेक केही बाँकी नरहने चेतावनी दिनुभएको छ ।
नेकपा एमालेभित्र बौद्धिक व्यक्तित्वका रूपमा चिनिने थापाले राजनीतिक दलहरूमा नेतृत्वले मात्र सबै कुरा गर्न सक्छ भन्ने सोच हावी हुनु घातक भएको बताउँनुभएको छ । उहाँले सबै नेता तथा कार्यकर्ताले आ–आफ्नो स्थानबाट देश र जनताको हितमा काम गर्नुपर्ने र पार्टीले सही दिशा निर्देशन दिनुपर्नेमा जोड दिनुभएको छ । थापाले भन्नुभएको छ, “हाम्रो समाज र राजनीतिमा कतिपय मानिसहरू यस्ता छन् जसले आफूलाई नै सबै कुराको ज्ञाता र सर्वेसर्वा ठान्छन्। तर, उनीहरूले आफ्नो कमजोरी र वास्तविकतालाई स्वीकार गर्न चाहँदैनन् ।”
उहाँले यो प्रवृत्तिले पार्टीको आन्तरिक एकतामा मात्र होइन, समग्र देशको विकास प्रक्रियामा समेत नकारात्मक असर पार्ने बताउनुभएको छ । थापाले भन्नुभएको छ, “यस्ता व्यक्तिहरूले सत्यलाई अस्वीकार गर्ने र धरातलीय यथार्थलाई बेवास्ता गर्दा सही नीति निर्माण हुन सक्दैन, जसले गर्दा जनताको अपेक्षा पूरा हुन सक्दैन ।”
थापाको यो भनाइले नेकपा एमालेभित्र आन्तरिक मूल्यांकन र शुद्धीकरणको आवश्यकता रहेको संकेत गरेको छ । उहाँको यो टिप्पणीलाई कतिपयले पार्टीभित्र देखिएको गुटबन्दी र स्वार्थको राजनीतितर्फ लक्षित भएको पनि अनुमान गरेका छन् । थापाले पार्टी र देशलाई सही बाटोमा हिँडाउन सबैले आफ्नो अहंकार त्यागेर सामूहिक भावनाका साथ काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।