शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीमा जनप्रतिनिधिले गरे व्यक्तिगत प्रचार

शनिवार , श्रावण ३१, २०८२

सिन्धुली,३१ साउन – सिन्धुलीको सुनकोशी गाउँपालिकामा बिहिवार सम्पन्न सरकारी आयोजनाहरूको उदघाटन शैलीले स्थानीयवासी र नागरिक समाजमाझ गम्भीर प्रश्नहरू खडा गरेको छ । स्थानीय जनप्रतिनिधि र सांसदले सार्वजनिक कार्यक्रमलाई व्यक्तिगत प्रचारको माध्यम बनाएको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

सुनकोसी गाउँपालिका–५ मा निर्मित सातबिसे डिही भोटेखोला पुलको उदघाटन कार्यक्रमबाट यो विवाद सुरु भएको हो । उक्त कार्यक्रमको ब्यानरमा प्रमुख अतिथि, सिन्धुली क्षेत्र नम्बर २ का सांसद लेखनाथ दाहाल ‘राजन’को ठूलो फोटो टाँसिएको थियो । सांसद दाहाल गाउँपालिका अध्यक्ष दीपा दाहालका पति पनि हुनुहुन्छ । सरकारी संरचनाको उदघाटनमा सामान्यतया नेताहरूको व्यक्तिगत फोटो टाँस्ने प्रचलन नभएकाले यो कार्यलाई व्यक्तिगत प्रचारको रूपमा लिइएको छ ।

पुल उदघाटन भएको भोलिपल्ट शुक्रवारनै अर्को एक कार्यक्रममा पनि त्यस्तै दृश्य देखियो । बन्दीपुर दोस्रो खानेपानी तथा सरसफाइ आयोजनाको उदघाटन कार्यक्रममा बाटो नै छेकेर मञ्च बनाइएको थियो । सवारी साधन र पैदलयात्रीको आवागमनमा अवरोध पु¥याउँदै गरिएको यो उदघाटन कार्यक्रममा पनि प्रमुख अतिथि सांसद दाहालनै हुनुहुन्थ्यो ।

स्थानीयवासीका अनुसार, सरकारी संरचनाहरू जनताको सुविधा र सेवाका लागि निर्माण गरिएका हुन्छन्, तर यसको उदघाटनलाई व्यक्तिगत लाभ र प्रचारको लागि प्रयोग गरिनु अत्यन्तै आपत्तिजनक छ । “विकासका काम हुनु राम्रो कुरा हो, तर यस्तो अनावश्यक तामझाम र प्रचारले जनतालाई असहज महसुस गराउँछ,” एक स्थानीयले भने । उनले सरकारी आयोजनाहरूलाई व्यक्तिगत सम्पत्तिजस्तो व्यवहार गरिएको भन्दै आक्रोश व्यक्त गरे ।

यस घटनाले जनप्रतिनिधिहरूले आफ्नो पदको दुरुपयोग गरी व्यक्तिगत स्वार्थ र प्रचारलाई प्राथमिकता दिएको आरोप लागेको छ । राजनीतिक विश्लेषकहरूका अनुसार, यस्तो प्रवृत्तिले राजनीतिक दल र नेताहरूप्रति जनताको विश्वास घट्दै जान्छ । उनीहरूका अनुसार, सरकारी आयोजनाहरूका उदघाटनलाई सादगी र औपचारिकतामा सीमित राख्नुपर्छ ।

यो घटनाले सुनकोशी गाउँपालिकामा विकास निर्माणका कामहरूमा पारदर्शिता र जवाफदेहिताको अभाव रहेको देखाउँछ । स्थानीय सरकारले भविष्यमा यस्ता विवादित शैलीहरूबाट टाढा रही जनमुखी र पारदर्शी ढंगले काम गर्नुपर्ने आवश्यकता देखिएको छ ।

प्रतिक्रिया