सिन्धुली,३१ साउन – अविरल वर्षाका कारण आएको बाढीले सिन्धुलीको दुधौली नगरपालिका–१, गिचिहानी गाउँमा ठूलो क्षति पु¥याएको छ । आज दिउँसो ३ः३० बजेतिर अचानक बस्तीमा बाढी पस्दा १० घर डुबानमा परेका छन् भने एक महिला घाइते भएकको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
घटनाको जानकारी पाएलगत्तै दुधौली ईलाका प्रहरी कार्यालय दुधौलीका प्रहरी निरीक्षक सिमोन धितालको कमान्डमा १० जनाको प्रहरी टोली तत्काल घटनास्थलमा खटिएको प्रहरीले बताएको छ । बाढीले गर्दा घरभित्र फसेकी करिब ५८÷५९ वर्षकी भद्र कुमारी दनुवारलाई प्रहरी टोलीले सकुशल उद्धार गर्न सफल भएको छ । घाइते दनुवारको अवस्था मध्यम रहेको र उहाँको बोलीमा चेतना देखिएको प्रहरीले जनाएको छ । उहाँलाई थप उपचारका लागि दुधौली नगर अस्पताल, सिर्थौली पठाइएको छ ,
बाढीका कारण दुधौली नगरपालिका–१, गिचिहानी गाउँमा भद्र कुमारी दनुवारको काठले बनेको टायलको छाना भएको घर र गाईगोठ, ध्यानवती कुमर दनुवारको चार कोठाको एक तले पक्की घर , बुद्धलाल कुमर दनुवारको चार कोठाको एक तले पक्की घर , आशा अधिकारी दनुवारको चार कोठाको एक तले पक्की घर , संगिता थापाको टायलको छाना भएको काठको घर, लक्ष्मी कुमर दनुवारको चार कोठाको एक तले पक्की , शिव नाथ दनुवारको टायलको छाना भएको काठको घर, निशा दनुवारको टायलको छाना भएको काठको घर ,वृर्जलाल कुमर दनुवारको चार कोठाको एक तले पक्की घर र केदार गिरीको चार कोठाको एक तले पक्की घरमा बाढी पसेर क्षती पुर्याको प्रहरीले जनाएको छ ।
बाढीले भौतिक संरचनामा ठूलो क्षति पु¥याए पनि हालसम्म मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । स्थानीय प्रशासनले बाढी पीडितहरूलाई राहत र आवश्यक सहयोग उपलब्ध गराउने तयारी गरिरहेको छ । यस घटनाले मनसुनको समयमा हुने प्राकृतिक प्रकोपको जोखिम र त्यसबाट बच्न पूर्वतयारीको आवश्यकतालाई उजागर गरेको छ