सिन्धुली,३१ साउन – सत्तारुढ दल नेकपा (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल, सिन्धुलीले शुक्रबार एक रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सामुदायिक सेवा र मानवीय सहयोगको भावनालाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित यस कार्यक्रममा विभिन्न वर्गका २१ जनाले रक्तदान गरेका छन् । यसले समाजमा रगतको अभावलाई कम गर्न महत्वपूर्ण योगदान पुर्याएको छ ।
नेकपा (एमाले) जिल्ला पार्टी कार्यालय सिन्धुलीको प्रांगणमा सम्पन्न भएको यस कार्यक्रमको प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी, सिन्धुली शाखा ले गरेको थियो । कार्यक्रममा नेकपा (एमाले) का साथै विभिन्न भातृ संगठनका प्रतिनिधिहरू, युवा वर्ग, स्वास्थ्यकर्मी तथा विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो ।
राष्ट्रिय युवा संघ नेपाल, सिन्धुलीका जिल्ला अध्यक्ष अरुण पाख्रीनले कार्यक्रमको मुख्य उद्देश्यमाथि प्रकाश पार्दै भन्नुभयो, “रगतको अभावले कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्ने हाम्रो मूल सन्देश हो । हाम्रो समाजमा रगतको अभाव हुँदा बिरामीको उपचारमा ढिलाइ हुने र उनीहरूको ज्यान जोखिममा पर्ने धेरै घटनाहरू सुन्ने गरिन्छ। यस्ता समस्यालाई सम्बोधन गर्न हामी युवाहरूले सामाजिक जिम्मेवारीका रूपमा यस अभियानलाई निरन्तरता दिनेछौँ ।”
अध्यक्ष पाख्रीनले यस कार्यक्रमलाई केवल एकपटकको अभियानका रूपमा नलिई, नियमित रूपमा रक्तदान अभियान सञ्चालन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । उहाँले युवाहरूलाई सामाजिक कार्यमा संलग्न हुन र सेवा भाव लाई आफ्नो जीवनको अभिन्न अंग बनाउन प्रेरित गर्नुभयो ।
यस कार्यक्रमले रगतको महत्वबारे जनचेतना जगाउनुका साथै युवाहरूलाई रचनात्मक र सामाजिक कार्यमा जोड्न सफल भएको स्थानीय बासिन्दाहरूको भनाइ छ । कार्यक्रमको सफलताले भविष्यमा पनि यस्ता सकारात्मक कार्यहरूका लागि प्रेरणा मिल्ने विश्वास गरिएको छ ।