शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

बीपी राजमार्ग : भदौ १५ गते सम्म राति १२ घण्टा बन्द हुने

शनिवार , श्रावण ३१, २०८२

काभ्रेपलाञ्चोक,३१ साउन– मनसुनको समयमा बढेको बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकले बिपी राजमार्गको काभ्रेभञ्ज्याङ्ग–भकुण्डेवेशी खण्डमा रात्रिकालीन सवारी आवागमनमा पूर्ण प्रतिबन्ध लगाएको छ । यात्रुको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै प्रशासनले भदौ १ गतेदेखि १५ गतेसम्म १५ दिनका लागि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म कुनै पनि प्रकारका सवारीसाधन सञ्चालन गर्न नपाइने निर्णय गरेको हो ।

हाल देशभर मनसुन सक्रिय रहेकाले बिपी राजमार्गका विभिन्न खण्डमा जुनसुकै बेला पहिरो खस्ने वा सडक अवरुद्ध हुने जोखिम उच्च छ । विशेष गरी पहाडी भूभागमा निर्माण भएको यो सडक साँघुरो भएकाले रातिको समयमा यात्रा गर्दा दुर्घटनाको सम्भावना अझ बढी हुने गर्छ । यसै जोखिमलाई न्यूनीकरण गर्न र सम्भावित मानवीय तथा भौतिक क्षतिबाट बच्नका लागि जिल्ला सुरक्षा समिति, काभ्रेपलाञ्चोकले शुक्रवार यस्तो निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा भनिएको छ, “वर्षाका कारण सडक खण्ड जोखिमपूर्ण बनेको छ । यात्रुको जीवनरक्षाका लागि रात्रिकालीन सवारी आवागमनमा रोक लगाइएको हो ।” यो निर्णयले सिन्धुली, रामेछाप, ओखलढुंगा लगायतका जिल्लाबाट काठमाडौँ उपत्यकातर्फ आउने तथा उपत्यकाबाट ती जिल्लातर्फ जाने सार्वजनिक तथा निजी सवारीसाधन दुवैलाई असर गर्नेछ । विशेषगरी रात्रिकालीन बस सेवा प्रयोग गर्ने यात्रुहरूले अब यो अवधिमा वैकल्पिक मार्गको खोजी गर्नुपर्ने भएको छ ।

प्रशासनले यस अवधिमा यात्रा गर्ने योजना बनाइरहेका यात्रु तथा यातायात व्यवसायीलाई वैकल्पिक मार्गहरू प्रयोग गर्न वा आफ्नो यात्राको समय परिवर्तन गर्न अनुरोध गरेको छ । “सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ, त्यसैले सबैले यो निर्णयलाई पालना गरी सहयोग गरिदिनुहुन हार्दिक अनुरोध छ,” सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जारी गर्नुभएको सूचनामा उल्लेख छ ।

यातायात व्यवसायी तथा यात्रुहरूले भने यस निर्णयले केही असुविधा हुने भए पनि यात्रुको सुरक्षाका लागि यो कदम आवश्यक रहेको श्रेष्ठले स्वीकार्नु भएको छ । उहाँले प्रशासनको यो निर्णयको पालना गर्ने र वैकल्पिक व्यवस्था मिलाउने बताउनुभयो । यस निर्णयले दिउँसोको समयमा भने सवारी आवागमन सामान्य नै रहनेछ, तर रातिको समयमा यात्रु तथा चालकहरूले विशेष सतर्कता अपनाउनुपर्ने भएको छ ।

प्रतिक्रिया