शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

गौमतीको शिक्षक सरुवा विवाद समाधान , तीन बुँदे सहमति

शुक्रवार , श्रावण ३०, २०८२

सिन्धुली, ३० साउन – सरुवाको विरोधमा १० दिनसम्म रिले अनशनमा बसेका दुई शिक्षक, शंकर प्रसाद ढकाल र विष्णु प्रसाद फुयाँल, अन्ततः आफ्नो अडानबाट पछि हट्दै सरुवा भएको विद्यालयमै हाजिर हुन तयार हुनु भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका–६ स्थित गौमती माध्यमिक विद्यालयका यी दुई शिक्षकले सरुवालाई ‘अन्यायपूर्ण’ भन्दै अनशन सुरु गर्नुभएको थियो । तर शुक्रबार नगरपालिका, शिक्षक संघ,संगठनहरु र उहाँहरूबीच भएको तीन बुँदे सहमतिपछि विवाद समाधान भएको हो ।

गत साउन १६ गते कमलामाई नगर शिक्षा समितिको बैठकले १५ जना शिक्षकको सरुवा गर्ने निर्णय गरेको थियो । यस निर्णयअनुसार शिक्षक ढकाललाई जनज्योति माध्यमिक विद्यालय, फोर्सेटार र फुयाँललाई कमला माध्यमिक विद्यालय, ढुंग्रेवार मा सरुवा गरिएको थियो । यस निर्णयको विरोधमा उहाँहरूले गौमती माध्यमिक विद्यालय परिसरमै अनशन सुरु गर्नुभएको थियो ।

शिक्षक ढकाल विगत ३५ वर्षदेखि र फुयाँल पछिल्लो ११ वर्षदेखि सोही विद्यालयमा कार्यरत हुन्हुन्थ्यो । उहाँहरूको भनाइ थियो कि लामो समयदेखि सेवा गरिरहेको अवस्थामा बिना कुनै पूर्वजानकारी र सम्मानजनक व्यवहार सरुवा गरिएको थियो, जुन पूर्णतः अनुचित थियो ।

शुक्रबार बिहान कमलामाई नगरपालिकाका प्रतिनिधि, विभिन्न शिक्षक संघ संगठनका पदाधिकारी र अनशनरत शिक्षकहरूबीर्च छलफल भएको थियो । यो छलफलले तीन बुँदे सहमतिमा हस्ताक्षर गरेपछि विवादको अन्त्य भएको हो।

सहमति बुँदाहरू :

शिक्षक–कर्मचारीले ससम्मान शान्तपूर्ण वातावरणमा पठनपाठन गर्न पाउने सहज स्थिति कायम कायम गर्ने सुनिश्चितता बिद्यालयबाट गरिनुपर्ने ।

कमलामाई नगरपालिकाबाट सम्पादित कार्यहरु जस्तै दरबन्दी मिलान, विद्यालय मर्जिङ, शिक्षकलाई कमकाज गर्न खटाउने लगायतका शिक्षक तथा बिद्यालय सम्बन्धि कार्यहरु सम्पादन गर्दा नगरभित्र क्रियाशिल शिक्षकका स्थानिय पेशागत संस्थाका प्रतिनिधिहरुको छलफल,सहभागिचा र सहमति गर्ने ।

अनसनरत शिक्षकहरुले एसईई पुरक परिक्षा–२०८१ समेतलाई मध्यनजर गरी बिद्यालयमा बस्दै आएको अनसन अन्त्य गरी हाललाई कामकाज गर्न खटाएको बिद्यालयमा हाजिर हुन जाने र शिक्षक दरबन्दी मिलान कार्यदलको तत्काल हाजिरी र भविष्यको कार्य प्रारम्भ भईसकेकोले सो सम्बन्धि प्रतिबेदनमन उहाँहरुले रोजेको बिद्यालयमा कामकाज गर्ने ब्यवस्था मिलाउने ।

छलफलमा कमलामाई नगरपालिका सामाजिक विकास समिति संयोजक उज्ज्वल कुमार थापा को संयोजकत्वमा नेपाल शिक्षक महासंघ कमलामाई अध्यक्ष रामेश्वर दाहाल, नेपाल शिक्षक संघ कमलामाई अध्यक्ष केदारप्रसाद अधिकारी, नेपाल राष्ट्रिय शिक्षक संगठन कमलामाई अध्यक्ष दीपक कुमार बुढाथोकी लगायतका पदाधिकारीहरू र अनशनरत दुवै शिक्षक सहभागी थियो ।

यस सहमतिको रोहबरमा शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नवराज बराल सहित सिन्धुलीका विभिन्न शिक्षक संगठनका अध्यक्षहरू पनि उपस्थित थियो । यो घटनाले स्थानीय तहमा शिक्षक सरुवाको जटिलता र यसको समाधानका लागि आवश्यक सामूहिक प्रयासको महत्वलाई उजागर गरेको छ ।

प्रतिक्रिया