शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

अन्धविश्वास र एकान्त जीवनको त्रास, हायू परिवार अझै पुरानो थलो फर्कन डराउँछन

बिहिवार , श्रावण २९, २०८२

सिन्धुली,२९ साउन – गोलन्जोर गाउँपालिका–६ बिप्पर कटेरीको सल्लेरी वनको छेउमा रहेको हायू परिवारको घर अहिले सुनसान छ । सुकेका मकैका बोट, फर्सीका झ्याङ, र घर वरिपरि छरिएका लुगाफाटा, किताबकापी र चप्पलहरूले त्यहाँ कहिल्यै बास भएको परिवारको स्मृति मात्र बाँकी राखेका छन् ।

यो घर तीन वर्षअघि दिवंगत साने हायूको परिवारले बनाएको हो । तर साउन १० गते मध्यरातमा १६ जनाको परिवार एकैपटक घर छाडेर बेपत्ता भएपछि गाउँमा सनसनी मच्चिएको थियो । तीन दिनपछि उनीहरू कास्कीको पोखरामा भेटिए, तर घर फर्के पनि आफ्नै थलोमा पग्न सकेका छैनन् ।

५२ वर्षीया घरमुली उर्मिला हायूका अनुसार, डेढ वर्षयता काइँली छोरी अस्मिता समय–समयमा ‘बर्बराउने’, ‘बेहोस हुने’ जस्ता लक्षण देखाउन थाल्नुभयो । परिवारमा यो घटनालाई दिवंगत बाबुको आत्मा प्रवेश भएको रूपमा व्याख्या गरियो ।

“छोरीमा प्रवेश गरेको आत्माले जे भन्छ, त्यसै गर्नुपथ्र्यो,“ उर्मिला सम्झिनुहुन्छ, “राति बालबालिकालाई उठाएर नुहाउनुपर्ने, एक्लै बाहिर जान नहुने, यहाँ बस्नु ठीक छैन भन्दै निरन्तर आदेश आउँथ्यो ।”

ज्वाइँ धनबहादुर तामाङको सुझाबमा अन्ततः परिवारले राति १ बजे सबै मोबाइलको सिम फालेर, चौपाया–पन्छी छाडेर जंगलको बाटो हुँदै सडकमा झरे र गाडी रिजर्भ गरेर पोखरा पुगे ।

सुनकोशी सामुदायिक अस्पतालका डा. सरोजकुमार शाहका अनुसार, अस्मिताको अवस्था कन्भर्सन डिसअर्डर (हिस्टेरिया) हो, जसको उपचार मनोचिकित्सकको सल्लाह र काउन्सिलिङद्वारा सम्भव छ । “तर उनीहरू अन्धविश्वासमा जकडिएका देखिन्छन्,“ उहाँले भन्नुभयो ।

बिप्पर कटेरी विकट खोंचमा पर्छ, वरिपरि सल्लेरी वनले घेरेको। छिमेकीसम्म पुग्न आधा घण्टाको ठाडो उकालो चढ्नुपर्छ। विद्यालय र स्वास्थ्य संस्था टाढा छन्, बाटो बिग्रिएको छ ।

जेठा छोरा राजुका अनुसार, भाइबहिनीहरू महिनौँदेखि रातभर रोगले सताउने, बिहानै अर्को सदस्यमा समस्या देखिनेजस्ता घटनाले मानसिक थकान दिएको थियो । “पोखरा गएर केही काम खोजौँ, यहाँ बस्नु हुँदैन भनेर ज्वाइँले भनेपछि हामी हिँड्यौँ,“ राजुले सुनाउनुभयो ।

पोखरामा तीन दिन बसेपछि प्रहरी र पत्रकारको चासो बढ्दा घरबेटीले कोठा खाली गर्न भने । वडाध्यक्ष रविन श्रेष्ठले फर्काए पनि पुरानो थलोमा नबस्ने निर्णय भयो ।

वडाध्यक्ष श्रेष्ठकै तीन कोठे घरमा अहिले २२ जनाको परिवार बसिरहेको छ । तर यहाँ आएपछि पनि केही दिनसम्म बेहोस हुने र छट्पटाउने समस्या देखिएको थियो । बिहे भएका छोरी–ज्वाइँलाई आ–आफ्नो घर पठाएपछि मात्र शान्त वातावरण बनेको राजुले बताउनुभयो ।

उर्मिलाले श्रीमान्को मृत्यु पनि रहस्यमय भएको बताउनुभयो । “घर छाडेर जानुभएको थियो, तीन महिनापछि हाडखोर मात्र भेटियो,“ उहाँ भन्नुभयो । यसपटक पनि बालबालिका बर्बराउन थालेपछि ज्यान जोगाउन भाग्नु परेको उहाँको धारणा छ ।

वडाध्यक्ष श्रेष्ठले भन्नुभयो, “यो अन्धविश्वास हटाएर मात्र उनीहरूको मनमा बसेको डर भगाउन सकिन्छ । विद्यालय र रोजगारी नजिकको ठाउँमा बसोबासको व्यवस्था मिलाउने योजना छ ।”

उहाँका अनुसार, हायू समुदाय लोपोन्मुख सूचीमा पर्छ, र गोलन्जोरमै ५१९ जना हायू छन् । “१६ जनाको परिवारलाई फेरि थातथलोमा अड्याउन सकियो भने मात्र यो पहल सफल हुन्छ,“ श्रेष्ठले बताउनुभयो ।

राजु फेरि अटो चालक बन्न चाहनुहुन्छ, माइला छोरा खेती र ज्यामी काम खोज्दै हुनुहुन्छ । अरु छोराछोरी पढाइमा फर्किएका छन् । उर्मिलाले बाख्रा र कुखुरा पालनका लागि संघ–संस्था गुहारिरहनुभएको छ । सिड्स नेपालले सहयोगको आश्वासन दिएकाले वडाध्यक्षको खेतमा काम गरेर जीवन पुनःथाप्ने तयारी भइरहेको छ ।

“बालबालाको पढाइ र हाम्रो रोजगारीमा सहयोग पायौँ भने फेरि नयाँ जीवन सुरु गर्न सक्छौं,“ उर्मिलाले आशा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया