सिन्धुली,२९ साउन — सिन्धुली जिल्लामा शहरीदेखि ग्रामिण बस्तीसम्म पाइपलाइनमार्फत आपूर्ति हुने खानेपानीमध्ये केही योजनामा गम्भीर स्वास्थ्य जोखिम देखिएको छ । जनस्वास्थ्य कार्यालय सिन्धुलीको ताजा तथ्यांकअनुसार, जिल्लाका १० वटा खानेपानी योजनाबाट वितरण भइरहेको पानीमा कोलिफर्म जीवाणु फेला परेको छ ।
विशेषगरी वर्षायाम सुरु भएयता खोला–खहरेमा आएको बाढी, भू–क्षय र मुहानमा भल पस्दा पानीको स्रोतमै प्रदूषण बढेको हो । नमुना परीक्षणमा भेटिएका कोलिफर्म जीवाणु सामान्यतया मानव वा पशुहरूको मल–मूत्रबाट आउने भएकाले, यसलाई दिसाजन्य प्रदूषणको स्पष्ट संकेत मानिन्छ ।गत आर्थिक वर्ष २०८१/८२ को बार्षिक प्रगति समीक्षा कार्यक्रममा सार्वजनिक विवरणअनुसार, जिल्लामा सञ्चालित ७३ खानेपानी योजनामध्ये १० योजनाको पानी नमुना परीक्षणमा अस्वस्थकर पाइयो ।
खानेपानी डिभिजन कार्यालयबाट निर्माण भएका करिब २ दर्जन योजना र स्थानीय तहमार्फत सञ्चालित करिब ४ दर्जन योजनामध्ये केहीमा समस्या देखिएको हो ।
जनस्वास्थ्य कार्यालय प्रमुख बिमल पटेललेभन्नुभयो, “पानीमा कोलिफर्म जीवाणु भेटिनु भनेको उपभोक्ताले नियमित पानी उमालेर मात्र पिउनु आवश्यक छ भन्ने स्पष्ट सन्देश हो। अन्यथा, पेटसम्बन्धी रोगदेखि टाइफाइड, हेपाटाइटिस जस्ता रोग फैलिन सक्छन् ।”
जिल्ला समन्वय समिति सिन्धुलीका उपप्रमुख शान्ता कार्कीले पनि दूषित पानी तत्कालै वितरण नगर्नुपर्ने धारणा राख्दै, “स्वच्छ पानी पिउन पाउनु जनताको मौलिक अधिकार हो, यसमा कुनै सम्झौता हुन सक्दैन” भन्नुभयो ।
जनस्वास्थ्य कार्यालयले पानीको नियमित गुणस्तर परीक्षण, स्रोत संरक्षण, तथा वर्षायाममा मुहान वरिपरि भल रोक्ने संरचना निर्माणमा स्थानीय तह र संघीय निकाय दुवैलाई सक्रिय हुन आग्रह गरेको छ । त्यस्तै, सरोकारवालाहरूले दूषित पानीको प्रयोगले दीर्घकालीन रुपमा स्वास्थ्यमा असर पार्ने भएकाले,जनस्तरमा सचेतना कार्यक्रम, विद्यालयमार्फत बालबालिकालाई स्वच्छ पानीको महत्व सिकाउने आवश्यक परे आपतकालीन पानी शुद्धीकरण उपकरण वितरण जस्ता कदम तुरुन्त चाल्नुपर्ने सुझाव दिएका छन् ।
हालैको परीक्षणले देखाएको तथ्यांकले एक कुरा प्रष्ट पारेको छ, पानी पारदर्शी देखिँदैमा सुरक्षित हुँदैन । त्यसैले, स्वास्थ्य विशेषज्ञहरू उपभोक्तालाई पिउनु अघि पानी उमाल्ने, फिल्टर गर्ने वा क्लोरिन प्रयोग गर्न सुझाव दिन्छन् ।
सिन्धुलीका बासिन्दाले आफ्नो पानीको स्रोत र गुणस्तरबारे नियमित जानकारी लिनु र स्वास्थ्यलाई प्राथमिकता दिनु अहिलेको सबैभन्दा महत्वपूर्ण कदम हो ।