सिन्धुली,२५ साउन – सिन्धुलीका नेवार समुदायले गाईजात्रा पर्व मनाएका छन् । नेवाः समाज सिन्धुलीको आयोजनामा आइतवार मनाइएकोे यो पर्व भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन चल्छ ।
गाईजात्रामा एक वर्षभित्र दिवंगत आफन्तको सम्झनामा गाईलाई बजार परिक्रमा गराइन्छ । नेवाः समाज सिन्धुलीको आयोजनमा सिन्धुलीमाढी २ नम्बर बजारमा रहेको गणेस्थान मन्दिरबाट सुरु भएको गाईजात्रा बजार परिक्रमा गर्दै बसपार्क आइपुगेर समापन भएको थियो । कार्यक्रममा सहभागीले परम्परागत वाद्यवादन, नाचगान र व्यङ्ग्यात्मक प्रस्तुतिहरूका माध्यमबाट गाईजात्राको ऐतिहासिक र सांस्कृतिक महत्व झल्काएका थिए ।
मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्नो इलाकामा परिक्रमा गराइने र उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा पनि छ । वि.सं. १५१२ मा काठमाडौँका राजा प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको बिफरको महामारीमा परेर मृत्यु भएपछि शोकाकुल रानीलाई हाम्रा मात्र होइन, दुनियाँका सन्तान पनि मरेका छन् भनी सान्त्वना दिलाउन जात्रा सुरु गरिएको थियो ।
त्यस बेला बिफरले मरेकाको घरबाट आफ्नो दरबार हनुमान ढोकासम्म गाईजात्रा गराउन लगाए अनुसार यो यात्रा सुरु भएको इतिहासमा वर्णन गरिएको पाइन्छ । समयक्रममा गाई नहुनेले हसाउँदो भेषभूषामा बालबालिकालाई नै गाईको स्वरूपमा प्रदर्शन गराउँदा यसले हँसाउने जात्राको रूप धारण गरेको भनिन्छ ।