सिन्धुली,२४ साउन – सदरमुकाम सिन्धुलीमाडीको ग्वाङखोलाको विभिन्न दोभानमा जनैपूर्णीमाका दिन तागाधारीहरुको भरिभराउ हुन्थ्यो । खोलाको कञ्चन पानीमा नुहाइधुआइ गरेर शुद्ध भइ पुरेतले मन्तरेको चोखो जनाइ फेरेर घर फर्किने चलन थियो । तर केही वर्षदेखि एकाधस्थानमा न्यून संख्यामा तागाधारीहरु खोलामा पुग्नुले परम्परा मासिने हो की भन्ने चिन्ता पाकाहरुको छ ।
पहिला ब्रतबन्ध गरेका घरका छोरानातीहरुलाइ समेत साथमा लिएर पाकाहरु खोलामा पुगी स्नान गरेर परम्पराका बारेमा जानकारी दिन्थे । अहिले पाकाहरु नै एकाध बाहेक घरमै नृहाएर जाने र विधी मात्र गर्नाले रौनक घटेको स्थानीय केशवप्रसाद दाहाल बताउनुभयो । उहाँले भन्नुभयो, “ब्रतबन्ध भएका र नभएकाहरु समेत गएर खोलामा पौडी खेल्ने, संस्कृती बुझ्ने काम हुन्थ्यो, अब बिस्तारै त्यो घटेर गएको छ । मोवाइलले गर्दा घरबाट बाहिर निक्लनै मान्दैनन् ।” छोरा, नातीहरु खोला जानै मान्दैनन्, धेरै त बाहिर नै हुन्छन, परम्परा र सस्कृती बचाउन नै गाह्रो हुने भयो, अर्का तागाधारी मुरारीप्रसाद गजुरेलले भन्नुभयो, “पाकाहरुमा समेत झारा टार्ने मात्र हुन थालेको छ ।”
तीजमा महिलाहरुले पञ्चमी नुहाउदा भेला भए जसरी नै तागाधारी पुरुषहरु खोलानदीमा जम्मा भइ विधीपूर्वक जनैधारण गर्ने चलन क्रमश हराउँदै गएकोमा स्थानीय धु्रवप्रसाद दाहाल चिन्ता जाहेर गर्नुभयो । उहाँले भन्नुभयो, “अवको पुस्ताले यो चाड, संस्कृती र परम्परालाइ कसरी धान्ला ।” जौ, तील, कुश, ताम्रपात्र, शुद्ध माटो, गाइको गोवर,खरानी, दुवो, अपमार्ग, फलफुल, चन्दन, अक्षता सहितको पुजा सामाग्री सहित श्रावणीको विषेश स्नान भइ जनै धारण हुने पुरेत कृष्ण दाहालले बताउनुभयो । ग्रामिण भेगमा भने अझै तागाधारीहरु एकैस्थानमा भेला हुने परम्परा कायम नै छ । सुनकोशी गढतीर क्षेत्रको सुनकोशी नदी, तीनपाटनको चदाहा, कमलाखोंजको कमलानदी र मरिणको मरिणखोलामा तागाधारीहरु दोभान पर्ने क्षेत्रमा एर्कैस्थानमा जम्मा भइ पुजापाठ गरेर जनै धारण गर्ने र वृद्ध तथा घरका अन्य सदस्यका लागि लिएर फर्कने गर्दछन् ।