शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

कमलामाईमा घरपायक सरुवा अस्विकार गर्दै दुइ शिक्षक अनसन

शुक्रवार , श्रावण २३, २०८२

सिन्धुली,२३ साउन – साता अघि कमलामाइ नगरपालिका शिक्षा समितिले १५ जना शिक्षकको सरुवा गर्‍यो । १३ जना शिक्षक रमाना लिएर तोकिएको विद्यालयमा हाजिर भैसकेका छन् । दुइजना शिक्षक भने अपमानजन सरुवा भनेर तीनदिनदेखि सदरमुकाममा रहेको गौमती नमूना माविको हाताभित्र रिले अनशनमा छन् । रिले अनशनमा बस्ने शिक्षकहरुमा विष्णुप्रसाद फुयाँल र शंकरप्रसाद ढकाल हुनुहुन्छ । फुयाँल र ढकालको गौमती माविबाट सदरमुकाममै रहेको कमला र जनज्योती माविमा सरुवा हुनुभएको थियो ।

शिक्षा समितिले शिक्षक महासंघ सिन्धुलीका अध्यक्ष समेत रहनुभएका फुयाँलको आफैंले अध्ययन गरेको विद्यालय कमला मावि ढुंग्रेवासमा सरुवा गरेको थियो । ११ वर्षदेखि गौमतीमा अध्यापन गराइरहनुभएका फुयाँल कमला मावि घर पायक पनि हो । आफु शिक्षक महासंघको अध्यक्ष रहेको र एकवचन सोध्दा पनि नसोधी सरुवा गरेकाले हिनताबोध भई न्यायका लागि अनशन शुरु गरिएको फुयाँलको भनाइ छ । गौमती माविका शिक्षकसंग  प्रतिशोध साधिएको, विद्यालयमा भएको व्यथितीको अन्त्य र विद्यालय व्यवस्थापन समितिबाट डर, त्रास र धम्की अन्तय भइ स्वच्छ शैक्षिक बाताबरण हुनुपर्ने दुइ शिक्षकको माग छ । उनीहरुको अनसनलाइ शिक्षकका संघ, संगठनले आधिकारिक समर्थन भने गरेका छैनन् । विद्यालयमा भएको व्याप्त अनियमितता र स्वेच्छारिताको अन्त्यका लागि आवाज उठाउदा आफु सरुवाको कोपभाजनमा परेको शिक्षक फुयाँलले बताउनुभयो ।

“सरुवा भएको स्थान पायक पर्ने भएपनि छोरालाइ आफुले पढ्ने विद्यालयमा भर्ना गराइ शैक्षिक व्यथितीका विरुद्ध आवाज उठाउ“दा सरुवा भएकोमा मात्र मेरो विरोध हो”, शिक्षक फुयाँलले भन्नुभयो, “नत्र कमलामा पढाउन पाउनु मेरो लागि अवसर पनि हो ।”

अर्का शिक्षक ढकालको पनि घर पाएक सरुवा हो । गौमती नमूना माविमा चरम अनियमितता र व्यथिती रहेको र त्यसको अन्त्य नभए सम्म सरुवा भएको विद्यालयमा नजाने ढकालको अडान छ । “विद्यालय भित्र भएको व्यथिती अन्त्यको सुनिश्चितता भए आफुले पढेको विद्यालयमा अध्यापन गर्न पाउनुमा कुनै ग्लानी हुदैन्”, उहाँले भन्नुभयो, “झण्डै चारदशक सेवा गरेको विद्यालयबाट एकवचन नसोधी सरुवाहुदा अपमान भयो ।”

शिक्षक संघ संगठनका प्रतिनिधिहरु सहित बसेको नगर शिक्षा समितिको बैठकले नियमाअनुसार सरुवा गरेकाले अनशन छाडेर सम्वन्धित विद्यालयमा हाजिर हुन कमलामाई नगरपालिका शिक्षा शाखा प्रमुख नवराज बरालले सुझाउनुभयो । अन्य विद्यालयका हाजिर भइसकेका छन्, जसको घरपायक भएको छ, उसले प्रतिशोधको अडान लिए नगर शिक्षा ऐन अनुसार कारवाही हुने बरालको भनाइ छ । शिक्षाको सुधारका लागि चालिएको कदममा शिक्षक, अभिभावक र सरोकारवालाले साथ दिनुपर्ने नगरप्रमुख उपेन्द्र पोखरेलले बताउनुभयो । कुनै शिक्षकलाइ पनि भेदभाव गरेर सरुवा नगररिएको उहाँको जिकिर छ ।

विद्यालयमा अनियमितता छ भने छानविन समिति बनाउने र अब हुने सरुवा तथा अन्य शिक्षाका विषयमा शिक्षक महासंघ सल्लाह लिने गरि समझदारी बनाउन नगरपालिकालाइ शिक्षाविद्हरुले सुझाएका छन् । स्थानीय सरकारले नियम संगत गरेको खटनपटन मान्दिन भन्ने अधिकार शिक्षकलाइ नहुने उनीहरुको भनाइ छ ।

 

प्रतिक्रिया