मकवानपुर,२३ साउन – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले २७ साउनमा विश्वासको मत लिनुहुने भएको छ ।
२० साउनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएका बानियाँले एमालेसँगको छलफलपछि विश्वासको मत लिने दिन तय गर्नुभएको हो । मुख्यमन्त्री बानियाँले २७ साउनका लागि विश्वासको मत लिने गरी संसद बैठक बोलाउन प्रदेशसभा सचिवालयलाई जानकारी गराइसक्नुभएको छ ।
२० साउनमा मुख्यमन्त्री नियुक्त भएका बानियाँले संविधानअनुसार ३० दिनभित्र सांसदबाट विश्वासको मत लिइसक्नुपर्ने हुन्छ । मुख्यमन्त्री बानियाँले नेपालको संविधानको धारा १६८ को उपधारा ४ तथा प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम सांसदबाट विश्वासको मत लिने तयारी गर्नुभएको हो ।
मुख्यमन्त्री बानियाँले काँग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थनमा बहुमतको सरकार बनाउनुभएको हो् । आफ्नै दलका मुख्यमन्त्री बहादुरसिंह लामालाई हटाएर मुख्यमन्त्री हुनुभएका बानियाँले मन्त्रिपरिषद्लाई पूर्णता दिन सक्नुभएको छैन् । काँग्रेसको आन्तरिक किचलोका कारण बानियाँले ५ जना मन्त्री छनोट गर्न नसक्नुभएको हो ।
निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामाले यसअघि मन्त्री बनाउनुभएएका तीन जनालाई निरन्तरता दिने वा नदिने भन्ने विवादले पनि चर्को रूप लिएको छ । बानियाँ उनीहरूलाई नियुक्त गर्ने पक्षमा नभएको काँग्रेस सांसदहरूको भनाइ छ । तर, लामाले काँग्रेस सभापति शेरबहादुर देउवा निवासमा उहाँहरूको निरन्तरतामा सहमति जुटेपछि मुख्यमन्त्रीबाट राजीनामा दिनुभएको थियो । त्यसैले काँग्रेसभित्र असहमतिकै बीचमा विश्वासको मत लिन लाग्नुभएको हो । काँग्रेस र एमालेको गठबन्धन सरकारमा एमालेका ६ जना मन्त्री छन् भने काँग्रेसले ७ जना मन्त्री लिएको छ ।