शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

थातथलो फर्किएपछि हायु परिवारमा आशाको नयाँ बिहान

शुक्रवार , श्रावण २३, २०८२

सिन्धुली,२३ साउन – जीवनका कठिन मोडहरू पार गर्दै सिन्धुली फर्किएको उर्मिला हायुको परिवारले पुनःस्थापना र आशाको यात्रा सुरु गरेको छ । पोखरासम्मको कठिन यात्रापछि आफ्नो पुरानो थातथलो फर्किएका उनीहरूले अब नयाँ जीवनको सुरुवात गरेका छन् ।

गोलञ्जोर गाउँपालिका–६ का वडाध्यक्ष रविनकुमार श्रेष्ठको सक्रिय पहलमा परिवारका पाँच सदस्यलाई स्थानीय होटल र पानी कम्पनीमा रोजगारीको व्यवस्था गरिदिएको छ । यस्तै, परिवारका पाँच जना स्कुले बालबालिका स्थानीय विद्यालयमा भर्ना भई अध्ययन सुरु गरिसकेका छन् ।

साउन ९ गते पोखरा पुगेको यो परिवार ११ दिनपछि वडाध्यक्ष श्रेष्ठकै पहलमा सिन्धुली फर्किएको थियो । श्रेष्ठले उनीहरूलाई आफ्नै पुरानो घरमा राखेर तत्कालको बसोबासको व्यवस्था समेत मिलाइदिनुभएको थियो । श्रेष्ठले भन्नुभयो, “उनीहरूलाई गाउँमै रोजगारी र शिक्षा दिने व्यवस्था गर्न सकेकोमा खुसी छु । हाम्रो दायित्व हो, पीडामा परेकाहरूलाई फेरि सामान्य जीवनमा फर्काउने ।”

स्थानीय समुदायले पनि हयु परिवारलाई सहयोग र सद्भावका साथ स्वागत गरेको छ । पोखराबाट फर्किएपछि आफ्नो स्वास्थ्य अवस्था ठिक भएको उर्मिला हायुले बताउनुभयो । “वडाध्यक्षको घरमा बस्छौँ हामी अहिले । गाउँको बीचमा बस्छौँ, त्यसैले केही डर लाग्दैन अहिले त,” उर्मिलाले खुसी हुदै भन्नुभयो, “वडाध्यक्षले छोराछोरी सबैलाई काम लगाइदिनुभएको छ। धेरै राम्रो लागेको छ। अब मलाई सन्चो हुन्छ भन्ने ढुक्कै छ, अहिले धेरै कम पनि भैसकेको छ मलाई। नातिनीलाई पनि बिसन्चो भको ठिक हुँदै गको छ ।”

अब सबै राम्रो भएकोले कतै नहिँड्ने उहाँको भनाइ छ । “हामी त्यसरी हिँड्ने मान्छे नै हैन, कहीँ पनि हिन्दैनौँ । काम विषेशले हिँड्नु छुट्टै कुरो, नत्र हामी अब कतै जाँदैनौँ,” उर्मिलाले भन्नुभयो , “पहिलाको घर हेर्न मन लाग्यो भने दुईतीन महिनापछि हेर्न जानुपर्ला ।’

यो घटना केवल एक परिवारको पुनःस्थापनाको कथा मात्र नभई समुदाय, नेतृत्व र मानवीयताको उदाहरणीय प्रतिविम्ब हो ।

प्रतिक्रिया