शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

भारत पुर्‍याएर भुजेलको मिर्गौला झिक्ने गिरोहमा ३ जना पक्राउ

शुक्रवार , श्रावण २३, २०८२

फोटो :सिन्धुली मंसिर चारबाट सिन्धुली,२३ साउन – मजदुरी गरेर जीवन गुजारिरहेका सिन्धुलीका ३७ वर्षीय खिलबहादुर भुजेल एकाएक जीवनको सबैभन्दा कडा पीडा भोग्न बाध्य भएका छन् । होटलमा सजिलो कामको प्रलोभन देखाएर भारत पुर्‍याइएका उनलाई अचेत अवस्थामा मिर्गौला निकालिएको छ ।

मानव बेचबिखन अनुसन्धान ब्युरोमा पुग्नुभएका भुजेलले भारतको चण्डीगढस्थित अज्ञात क्लिनिकमा आफूले मिर्गौला गुमाएको उजुरी दिएपछि प्रहरी सक्रिय भएको छ । उहाँका अनुसार, ‘६ लाख दिने’ भन्दै फकाइएका थिए, तर न पैसा पाउनुभयो न त आफ्नो मिर्गौला जोगाउन सक्नुभयो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेपछि उहाँलाइ पोखराबाट नभई काठमाडौंको कोटेश्वर हुँदै सुनौली नाकाबाट भारतमा काम गर्न गएको खुलेको छ । “२०८२ साल जेठमा काठमाडौँ महानगरपालिका–३२, कोटेश्वर आकाशेपुल नजिकबाट कलंकी पुर्‍ एर त्यहाँबाट बसमा भैरहवा हुँदै सुनौनी बोर्डर पारि लगेको पाइएको छ,” ब्यूरोका प्रबक्ता प्रहरी उपरीक्षक नरेन्द्र कुवरले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, “उनलाई भारतको चण्डीगढस्थित अपार्टमेन्टमा पु¥याएकोमा भोलिपल्ट क्लिनिकमा लगी मेडिकल चेकअप गराएको देखिन्छ ।” अपार्टमेन्टमा हाल पक्राउ परेका आरोपी समिर नेपाली र राकेश नेपालीले करिब १ महिना राखेपछि मिर्गौला बिक्री गर्ने अफर गरेको विज्ञप्तिमा उल्लेख छ । “...तिम्रो मृगौला निकाले बापत तिमीलाई नेपाली ६ लाख रुपैयाँ रकम आउँछ, निकालिसकेपछि नेपाल फर्कने बेलामा पैसा दिन्छु भनी प्रलोभन देखाएको देखिन्छ”, प्रहरीले भनेको छ, “जाहेरवालाले सो कुरा इन्कार गर्दा हालसम्म लागेको सम्पूर्ण खर्च व्यहोर्नु पर्ने भनी डर त्रास, करकापमा पारिएको थियो ।” त्यसपछि चण्डीगढस्थित नाम नखुलेको क्लिनिकमा ९ साउन २०८२ मा उनको बाँया मृगौला झिकिएको पाइएको छ । यसअघि पीडितले आफूलाई होटलमा जागिर लगाउने भन्दै भारत लगिएको र घर फर्किने भन्न थालेपछि समस्या सुरु भएको बताएका थिए । “घर फर्किने भनेर अडान राख्न थालेपछि म एक्कासी १० दिनपछि मैले आफूलाई काठमाडौंको कलंकीमा पाएँ,” भुजेलले भन्नुभएको थियो,“त्यसपछि कम्मर छेऊ दुख्दा के भयो भन्ने लाग्यो, त्यसपछि आफन्त कहाँ पुगे र सापटी लिएर सिन्धुलीस्थित घर गएँ ।” घरमा असाध्यै दुखेपछि उहाँहरु स्थानीय समिट माउन्ट अस्पताल पुग्नुभएको थियो । त्यसपछि डा. नवीन बयरले उहाँको भिडियो एक्सरे गर्नुभएको थियो । “बिरामी आउने वित्तिकै मलाई शंका लागेको थियो, जसरी टाँका लगाइएको थियो, त्यहाँ किड्नी भएको भए त्यसरी काट्नुपर्ने कारण नै थिएन”, उहाँले भन्नुभएको थियो्, “त्यसपछि सिधै एक्स–रे गर्न पठाएको थिएँ ।” पछि एउटा मिर्गौला नभएको थाहा पाएपछि उहाँले प्रहरीलाई समेत खबर गर्नुभएको थियो । डा. नवीनका अनुसार, खिलबहादुरले अस्पताल आउँदा १० दिनसम्म के भयो भन्ने आफूलाई केही थाहा नभएको जिकिर गर्नुभएको थियो । “उहाँले पोखराबाट कता–कता हुँदै भारतको कुन ठाउँ पुगे थाहा नभएको बताउनुभयो,” उहाँले भन्नुभयो,, “अस्पताल ल्याउँदा पनि उहाँ एक किसिमले बेहोसी अवस्थामै हुनुहुन्थ्यो । त्यसैले मैले दुखाइ कम गर्ने पेनकिलर, एन्टिबायोटिक लगायतका औषधि दिएको थिएँ ।” प्रबक्ता कुवरकाअनुसार, हालसम्म ती व्यक्तिले पैसा लिएको नदेखिएकाले उहाँलाई पीडितकै रुपमा हेरिएको छ । “पहिले भन्दा अलि फरक किसिमको बयान आएको छ, तर हालसम्म पैसा लिएको देखिन्न,” उहाँले भन्नुभयो, “बरु यो गिरोहले अरुलाई पनि यसरी लगेको हुनसक्ने शंकामा अनुसन्धान गरिरहेका छौं ।” त्यही पृष्ठभूमिका कारण संगठित अपराधको कसुरमा समेत छानबिन सुरु भएको उहाँले बताउनुभयो । भुजेलका अनुसार, आफू मात्र नभई साथमा भएका अरु ५ जनाको समेत मिर्गौला निकालिएको थियो । फर्किंदा सबैजना घाइते अवस्थामै थिए । “के गरियो मलाई थाहै छैन,” उहाँले भन्नुभयो प्रहरी अनुसन्धान अनुसार गिरोहले पीडितलाई पहिचान गरेर सीमा पार गराउने, स्वास्थ्य परीक्षण गर्ने, मिर्गौला झिक्ने र पछि फिर्ता पठाउने काम रणनीतिक रूपमा गरिरहेको छ । उनीहरू नेपालभित्रै मानिस चिनेको नाटक गरेर विश्वास जित्ने र भारतमा सबै व्यवस्था मिलाउने गर्छन् । पछिल्ला चार वर्षमा मात्रै मिर्गौला तस्करी सम्बन्धी एक हजार भन्दा बढी मुद्दा दर्ता भएका छन् । मानव बेचबिखन अनुसन्धान ब्युरोमा मात्र ३३४ मुद्दा छन् । लुम्बिनी प्रदेश सबैभन्दा प्रभावित प्रदेश हो, जहाँ १८५ मुद्दा दर्ता भएका छन् । यस घटनाले देखाएको छ,आर्थिक अभाव, जानकारीको अभाव र सुरक्षित वैदेशिक रोजगारीको अभावले नेपाली नागरिक कति सजिलै गिरोहको चंगुलमा पर्ने अवस्था छ ।  

प्रतिक्रिया