शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सरुवा आदेशविरुद्ध शिक्षकको अनशन : नेताहरूको चित्त नबुझेको सन्देश

बिहिवार , श्रावण २२, २०८२

सिन्धुली,२२ साउन – कमलामाई नगरपालिकाले गरेको शिक्षक सरुवालाई लिएर दुई शिक्षकको अनशन बिहिवार दोस्रो दिनमा प्रवेश गरेसँगै सिन्धुलीको शैक्षिक वातावरण तातिएको छ । गौमती माध्यमिक विद्यालयका शिक्षकहरु शंकर प्रसाद ढकाल र  शिक्षक विष्णु प्रसाद फुयाँलले आफूहरू अन्यायको सिकार बनेको भन्दै विद्यालयमै अनशन सुरु गर्नु भएको छ । शिक्षक विष्णु प्रसाद फुयाँल शिक्षकहरुको आधिकारीक ट्रेड युनियन नेपाल शिक्षक महासंघ सिन्धुलीका अध्यक्षसमेत हुनुहुन्छ ।

नगरपालिकाको साउन १६ गतेको निर्णयले १५ जना शिक्षकहरूको सरुवा गरेको थियो । तीमध्ये १३ जनाले नयाँ कार्यक्षेत्रमा हाजिर गरिसकेका छन् भने बाँकी दुई शिक्षकले सरुवालाई अस्वीकार गर्दै प्रतिवादको बाटो रोजेका छन् ।

यस घटनाले शिक्षक संगठनहरूलाई पनि दुई धारमा बाँडिएको छ । कोही यो अनशनलाई वैधानिक रूपमा समर्थन गर्न नसकिने बताउँछन् भने कोही सरुवा प्रक्रियामै गम्भीर त्रुटि भएको दाबी गर्दै अनशनरत शिक्षकसँग ऐक्यबद्धता जनाइरहेका छन् ।

“अनशन व्यक्तिगत हो, संघको निर्णय होइन” : अरुण कुमार थिङ,अध्यक्ष नेपाल शिक्षक संघ, सिन्धुली

नेपाल शिक्षक संघ, सिन्धुलीका अध्यक्ष अरुण कुमार थिङले अनशनप्रति संगठनको आधिकारिक सरोकार नरहेको प्रस्ट पार्नुभएको छ । उहाँका अनुसार सरुवा प्रक्रिया स्वयं पेशागत संघहरूको सहभागितामा तय गरिएको हो र अहिलेको अनशन व्यक्तिगत निर्णय हो ।

“अनशनबारे हामीलाई सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत मात्रै थाहा भयो,” उहाँले भन्नुभयो, “संघसंस्थाको सहमतिमा भएको निर्णयलाई व्यक्तिगत रूपमा अस्वीकार गर्नु उपयुक्त होइन ।”

थिङले अनशन विद्यालयभित्र होइन, सरुवा गराउने निकाय नगरपालिकासमक्ष गर्नु उपयुक्त हुने धारणा पनि राख्नुभयो ।

“पूर्वसूचना पाएको भए संगठनको भूमिका स्पष्ट हुन्थ्यो” : गुणविक्रम कुँवर,अध्यक्ष, नेपाल राष्ट्रिय शिक्षक संगठन, सिन्धुली

नेपाल राष्ट्रिय शिक्षक संगठन, सिन्धुलीका अध्यक्ष गुणविक्रम कुँवरले अनशनबारे पूर्व जानकारी नपाएकोमा अफ्ठ्यारो स्थिति उत्पन्न भएको बताउनुभयो । उहाँले अनशन अघि शिक्षकहरूले संवाद गरेको भए संगठनको धारणा स्पष्ट हुने बताउनुभयो ।

“अहिले हामी शिक्षकहरूसँग छलफलमै छौं,” कुँवरले भन्नुभयो, “नगरपालिका स्वयंले पनि संवादको बाटो रोज्नुपर्छ, किनभने सबै शिक्षकहरूका लागि नगरपालिका अभिभावकजस्तै हो ।” उहाँले सरुवा प्रक्रिया आगामी दिनमा अझ पारदर्शी र वैज्ञानिक हुनुपर्नेमा जोड दिनुभयो ।

“राजनीतिक दबाबमा भएको सरुवा अस्वीकार्य”  : सन्तोष कुमार श्रेष्ठ, एकीकृत अखिल नेपाल शिक्षक संगठन, सिन्धुली

एकीकृत अखिल नेपाल शिक्षक संगठन, सिन्धुलीका अध्यक्ष सन्तोष कुमार श्रेष्ठ भने सरुवा प्रक्रियामै गम्भीर त्रुटि भएको दाबी गर्नुभयो । उहाँका अनुसार नगर शिक्षा समितिको बैठकमा दरबन्दी मिलानका लागि कार्यदल गठन गर्ने एजेन्डा तय भएको भए पनि सो प्रक्रिया पुरा नगरी नगरप्रमुख र वडाध्यक्षहरूको दबाबमा शिक्षक सरुवा गरिएको हो ।

“१३ जनाले अनुकूल स्थान पाएर गए, दुई जनाले अन्याय महसुस गरे र अनशनमा बसे,” श्रेष्ठले भन्नुभयो, “हामी उनीहरूको न्यायिक मागप्रति ऐक्यबद्ध छौं ।”

निकास संवादबाट : तर कुन स्तरको ?

सरुवाको पारदर्शिता, प्रक्रियागत विश्वसनीयता र संघ–संस्थाको भूमिका विवादको मूल विषय बनेको छ । यता नगरपालिकाले सरुवा प्रक्रिया नियमनअनुसार भएको दाबी गरिरहेको छ भने उता शिक्षक संगठनहरूबीचको मतभेदले घटनालाई अझ चर्काउने संकेत देखिएको छ । अब प्रश्न उठ्छ, “अनशन संवादबाट समाधान हुने कि शिक्षक आन्दोलनले थप रूप लिने ?”

प्रतिक्रिया