शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

भुजेललाई भारत लगेर मिर्गौला तस्करी गर्ने एक जना पक्राउ

बिहिवार , श्रावण २२, २०८२

सिन्धुली,२२ साउन – सिन्धुलीका खिलबहादुर भुजेललाई भारत पुर्‍याएर मिर्गौला तस्करी गर्ने गिरोहका एक सदस्य पक्राउ परेका छन् । मानव बेचबिखन अनुसन्धान ब्युरोले नुवाकोटका समीर परियारलाई नियन्त्रणमा लिएको पुष्टि गरेको छ ।

प्रहरी स्रोतका अनुसार भुजेलले पोखराबाट अपहरण भएको दाबी गरे पनि अनुसन्धानले पोखरा नभई काठमाडौँबाटै भारत लगिएको खुलेको छ । भुजेलका दाजु मानबहादुर भुजेलका अनुसार गिरोहले जडीबुटीबाट खिलबहादुरलाई कीर्तिपुर पुर्‍याएर स्वास्थ्य परीक्षण गरेपछि कंलकीमा खाजा र मदिरा सेवन गराएका रहेछन्, नौबिसेमा खाना खुवाएर सुनौली नाका हुँदै भारत पुराएको रहेछ । साथै खिलबहादुरको मिर्गौला साउन ९ गते नै झिकिएको समेत पाइएको छ । होसमा आउँदा उनी काठमाडौँको कलंकीमा रहेको बताइएको छ ।

प्रहरी अनुसन्धानमा खुलिएको तथ्यअनुसार, समीर परियार प्रत्येक व्यक्तिको मिर्गौला तस्करीमा ५० हजार रुपैयाँ कमिसन लिने गर्थे । मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले परियारलाई नियन्त्रणमा लिएर मिर्गौला तस्करीमा संलग्नता बारे थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो । “बुधबार एक जनालाई नियन्त्रणमा लिएका छौं, आज थप कानुनी प्रक्रिया अघि बढ्छ,” प्रवक्ता कुँवरले भन्नुभयो ।

प्रहरी स्रोतले खुलाएअनुसार खिलबहादुर मात्र होइन, अन्य ५ जना नेपाली नागरिकलाई पनि गिरोहले भारत लगेको आशंका गरिएको छ। हाल ती सबै विषयमा विस्तृत अनुसन्धान जारी रहेको बताइएको छ ।

नेपालमा रोजगारीको प्रलोभनमा परेर मानव तस्करी र अंग तस्करीको समस्या भयावह बन्दै गएको देखिन्छ । यस्तो अपराधमा संलग्नलाई कडा कारबाही गर्न र नागरिकलाई सचेत बनाउन सरकार र सुरक्षासंस्थाको भूमिका झन प्रभावकारी हुन जरुरी देखिन्छ ।  मिर्गौला तस्करीजस्ता गम्भीर अपराधविरुद्ध सतर्कता र सजगता आजको आवश्यकता हो ।

प्रतिक्रिया