शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीका खिलबहादुर भुजेलको दुःखद कथा

बुधवार , श्रावण २१, २०८२

सिन्धुली,२१ साउन –  यसै बर्षको जेठ ३१ को अपराह्न ४ बजेतिर पोखराको पृथ्वीचोकमा कामको खोजीमा अल्मलिनुभएका सिन्धुली दुधौली–१ निवासी ३४ वर्षीय खिलबहादुर भुजेलका अगाडी कालो रंगको गाडीले रोकियो े। गाडीभित्रको अपरिचित व्यक्तिले सोधे, “भाइ, काम गर्छौ ?”

आर्थिक अभाव, पारिवारिक विछोड र रोजगारीको तीव्र आवश्यकताले थिचिनुभएका भुजेलले एकपल्ट पनि दोधार नगरी गाडीमा चढनुभयो । उहाँले के काम हो, कति तलब पाइने हो, वा कहाँ जानु पर्ने होल कुनै प्रश्न गर्नु भएन ्। कारण स्पष्ट थियो, पेट पाल्नुपर्ने बाध्यता र रोजगारीको हतारो ।

उहाँ गाडी चडेपछि गाडी तीव्र गतिमा हुइँकियो । केही बेरमै उहाँ अचेत हुनु भयो । होस खुल्दा बिहान भइसकेको थियो, वरिपरिको बोलीचाली र वातावरण पूर्ण अपरिचित, भारतीयजस्तो । उहाँलाई पाँच तला माथिको कोठामा बन्दी बनाएर राखियो । झ्याल–ढोका बन्द, बाहिर निस्कने कुनै अनुमति थिएन ।

महिनौंसम्म उहाँ त्यहीँ सफाइ र सामान्य काममा लगाइयो । कहिलेकाहीँ चार–पाँच जना पुरुषहरू आउँथे, खाजा खाएर फर्किन्थे । महिला कोही देखिँदैनथ्यो । उहाँले दशैं आउन लाग्दा घर फर्कने इच्छा प्रकट गनुृभयो, तर जवाफ मौन रह्यो ।

एक दिन उही कालो गाडी फेरि आयो । उहाँलाई चढाइयो, केही बेरमै फेरि अचेत । होस खुलेको बेला उहाँ काठमाडौंको कलंकी चोकको पेटीमा हुनुहुन्थ्यो पेटको बायाँपट्टि ठूलो चिरा, टेपले ढाकिएको ।

त्यसै दिन उहाँ परिचित साथीकोमा पुग्नुभयो, तर घटनाबारे केही भन्नु भएन् । साथीले टिकट र केही खर्च दिएर उहाँलाई सिन्धुली पठाइदिए । घरमा पुगेपछि मात्र उहाँले पेटमा असह्य पीडा भएको बताउँदै पेटको घाउ देखाउनुभयो । गाउँभरि हल्ला फैलियो, “मिर्गौला चोरी भएको हो कि ?“

भोलिपल्ट उहाँलाई डकाहा कमलाखोज सामुदायिक तथा अनुसन्धान केन्द्र लगियो । चिकित्सक डा. नवीन बयरका अनुसार, पेटमा २० वटा टाँका थिए । भिडियो एक्स–रे गर्दा बायाँ मिर्गौला भेटिएन । डा. बयरले तत्काल प्रहरीलाई खबर गर्नुभयो ।

भुजेलका अनुसार, उहाँलाई राखिएको ठाउँ भारतको कुनै शहर हुनसक्छ । त्यहाँको भाषा, कपडा, व्यवहार सबै भारतीय शैलीको थियो ।

अहिले उहाँ दाजुभाइको सहारामा बाँचिरहनुभएको छ । श्रीमती दुई वर्षअघि सन्तानसहित घर छाडेर गएकी थिइन् । रोजगारीको लोभमा परेको उहाँले अब मात्र महसुस गर्नु भएको छ, “काम खोज्दै गएको थिएँ, शरीर अपांग भएर फर्किएँ ।”

घटनापछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) लालध्वज सुवेदीले चाहिँ सिन्धुलीमा एउटा मिर्गौला निकालिएको व्यक्ति आएको भन्दै हल्लीखल्ली भएपछि आफूहरूले चासो देखाएको बताउनुभयो ।

“गाउँमा मान्छे आएको भन्ने भएपछि टोली पठाएर प्रारम्भिक हिसाबको केही सोधपुछ ग¥यौं, उहाँलाई किड्नी निकालिएको विषयमा धेरै जानकारी रहेनछ,” उहाँले भन्नुभयो, “बेहोस बनाएर पठाए भन्ने खुलेको छ, पीडित र भारत जोडिएको छ । त्यसैले यसमा विस्तृत अनुसन्धान गर्नेपर्ने स्थिति छ ।”

अन्तरदेशीय विषय जोडिएपछि क्षेत्राधिकारको कुरा समेत आउने भन्दै उहाँले भन्नुभयो, “हामीले थप अनुसन्धानका लागि यो केश काठमाडौंस्थित मानवबेचिबखन ब्यूरोतिर फर्वाड गरिदिएका छौं ।”

यो मामिलामा ब्यूरोबाट प्रभावकारी अनुसन्धान हुने भएकाले त्यहाँबाट अघि बढ्न परिवारलाई पनि सुझाइएको उहाँ बताउनुभयो ।

ब्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्ण पंगेनीले पनि सिन्धुलीको घटनाबारे जाँचबुझ गर्ने कार्य थालिसकिएको बताउनुभयो ।

यो कथा केवल एक व्यक्ति मात्रको पीडा होइन, रोजगारीको नाममा हुने मानव तस्करी र अंग चोरीको भयावह स्वरूप हो । विपन्न र सीपहीन नागरिकहरू प्रलोभनमा परेर यस्ता जालमा फस्ने जोखिम अझै उच्च छ ।

प्रतिक्रिया