सिन्धुली, २१ साउन — कमलामाई नगरपालिकाले गरेको शिक्षक सरुवा निर्णयविरुद्ध गौमती माध्यमिक विद्यालयका दुई शिक्षक अनशनमा बसेका छन् । शिक्षक शंकर प्रसाद ढकाल र विष्णु प्रसाद फुयाँलले सरुवालाई अन्यायपूर्ण भन्दै बुधबारदेखि विद्यालय परिसरमै अनशन सुरु गर्नुभएको हो ।
साउन १६ गते नगरपालिकाको शिक्षा समितिको बैठकले विभिन्न तहका १५ शिक्षकको सरुवा गरेको थियो । उक्त निर्णयअनुसार ढकाललाई जनज्योति मावि, फोर्सेटार र फुयाँललाई कमला मावि, ढुंग्रेवारमा सरुवा गरिएको हो । अधिकांश शिक्षक तोकिएको स्थानमा हाजिर गरिसके पनि ढकाल र फुयाँलले सरुवा अस्वीकार गर्दै विरोध प्रदर्शन सुरु गर्नुभएको छ ।
ढकाल २०४७ सालदेखि गौमतीमा कार्यरत हुनुहुन्छ भने फुयाँलले पछिल्लो ११ वर्षदेखि त्यहीँ पढाउँदै आउनुभएको छ । उहाँहरूले लामो समय एउटै विद्यालयमा सेवा दिँदा पनि सम्मानजनक व्यवहार नभएको र पूर्वसूचना बिना सरुवा गरिएको आरोप लगाउनुभएको छ ।
तर, नगरपालिकाको शिक्षा शाखाले सरुवा प्रक्रिया पूर्ण वैधानिक भएको दाबी गरेको छ । संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन २०७४, शिक्षा ऐन २०७४ तथा नियमावली २०७५ अनुसार रिक्त दरबन्दी र विद्यालयको आवश्यकता हेरी शिक्षक सरुवा गर्न सकिने प्रावधान रहेको शिक्षा शाखाको भनाइ छ ।
दुबै शिक्षकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको पनि खुलेको छ । ढकालमाथि विद्यालय व्यवस्थापन समितिलाई दबाबमा पारेर नियमविपरीत मासिक ३ हजार ५ सय रुपैयाँ सहायक प्रधानाध्यापक भत्ता लिएको आरोप छ, जबकि कानुन अनुसार प्रधानाध्यापकले समेत अधिकतम ५ सय रुपैयाँ मात्र भत्ता खान पाउने व्यवस्था छ । त्यस्तै, फुयाँलमाथि नियमित पठनपाठनको समयमा अर्को विद्यालयमा गएर पढाउने र अदालतमा वकालत गर्ने गरेको उजुरी परेको छ ।
शिक्षा शाखाका एक अधिकारीका अनुसार, अख्तियारले दुवै शिक्षकबारे पाँच पटकभन्दा बढी स्पष्टिकरण मागेपछि विवादरहित विद्यालयमा सरुवा गरिएको हो ।
अनशनरत शिक्षकहरूले भने सबै आरोप अस्वीकार गर्दै आफूहरूलाई षड्यन्त्रपूर्वक हटाउने प्रयास भएको दाबी गर्नुभएको छ । उहाँहरूले ‘अन्यायपूर्ण निर्णय फिर्ता नभएसम्म अनशन जारी राख्ने’ चेतावनी दिनुभएको छ ।
सरुवा अस्वीकार गरे कडा कारबाही : मेयर पोखरेल
यसैबीच, नगरपालिकाले सरुवा कार्यान्वयन नगरे कडा कारबाही गर्ने चेतावनी दिएकाले अब यो विवादले अर्को मोड लिने सम्भावना बढेको छ । कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेलले सरुवा आदेश अस्वीकार गर्दै अनशनमा बसेका दुई शिक्षकलाई तत्काल तोकिएको विद्यालयमा हाजिर भई जिम्मेवारी सम्हाल्न आग्रह गर्नु भएको छ ।
मेयर पोखरेलले शिक्षाको गुणस्तर सुधार र प्रणालीलाई सक्रिय बनाउन सरुवा गरिएको स्पष्ट पार्नुभयो । “स्थानीय सरकारले आवश्यकता अनुसार नियमानुसार सरुवा गरेको हो, यसमा कुनै पूर्वाग्रह छैन,” उहाँले भन्नुभयो, “यो नियमित प्रक्रिया हो।”
उहाँले नेपाली समाजमा प्रचलित भनाइ उद्धृत गर्दै लामो समय एउटै स्थानमा बस्दा शिक्षकको प्रेरणा, ऊर्जा र सिर्जनशीलता कमजोर हुने तर्क गर्नुभयो । “पानी पनि एकै ठाउँमा जमिरह्यो भने सड्छ भन्ने भनाइ छ,” पोखरेलले भन्नुभयो, “स्थानान्तरणले फरक अनुभव र चुनौती सामना गर्दै शिक्षकलाई अझ निखार दिन्छ ।”
मेयर पोखरेलका अनुसार, अधिकांश शिक्षकले सरुवा आदेश स्वीकार गरी नयाँ कार्यक्षेत्रमा जिम्मेवारी सम्हालिसकेका छन् । “सरुवा स्वीकृत गरी तोकिएको विद्यालयमा गएका शिक्षकलाई म धन्यवाद दिन चाहन्छु । अनशनमा बस्नु भएका विष्णु जी र शंकर जी पनि चाँडै कार्यक्षेत्रमा फर्किने आशा राखेको छु,” उहाँले भन्नुभयो ।
तर, सरुवा आदेश पालना नगरे आवश्यक कारबाही गर्नुपर्ने चेतावनी पनि पोखरेलले दिनुभएको छ । “निर्णय उल्लंघन भएमा तलब रोकुवा, निलम्बन लगायतका प्रक्रिया अघि बढाइनेछ,” उहाँले स्पष्ट पार्नुभयो ।