शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

भारत पुर्‍याएर मृगौला चोरीः दुधौलीका युवक पीडित

मंगलवार , श्रावण २०, २०८२

सिन्धुली,२० साउन – दुधौली नगरपालिका–१ का ३४ वर्षीय खिलबहादुर भुजेल भारतमा मानव अंग तस्करीको शिकार बन्नुभएको छ । रोजगारको प्रलोभनमा भारत पुर्‍याइएका भुजेलको एक मृगौला चोरी गरिएको खुलेको छ ।

परिवारका अनुसार केही समयअघि रोजगारीको खोजीमा पोखरा जानुभएका भुजेललाई होटलमा काम लगाइदिने बहानामा असारमा भारत लैजाने व्यक्तिले आफूसँगै लगेका थिए । भारत पुर्‍याएपछि उहाँलाई कुनै बहानामा बेहोस बनाइ शल्यक्रिया गरी मृगौला निकालिएको बताइएको छ ।

भारत गएको तिनदिन पछि उहाँ शल्यक्रियाको घाउसहित काठमाडौँको कंलकीमा ल्याएर छोडि दिएको भुजेलले बताउनु भयो । उहाँ घर फर्कियपछि स्वास्थ्यमा समस्या देखिएर उपचार गराउँदा डकाहा स्थित समिट माउन्टेन अस्पतालका चिकित्सकले उहाँको शरीरमा एक मात्र मृगौला रहेको पुष्टि गरेका छन् ।

भारत पुर्‍याउने व्यक्तिले उहाँलाई गम्भीर बिरामी भएको र त्यसकै उपचार गरिएको दाबी गरे पनि घटना मानव अंग तस्करीको जालो हुन सक्ने भन्दै परिवारले आशंका व्यक्त गरेको छ । भुजेललाई भारत कसले लगेका थिए भन्ने अझै स्पष्ट भइसकेको छैन ।

यस घटनाले मानव अंग तस्करीको गम्भीर रूप फेरि एक पटक उजागर गरेको छ । यसबारे प्रहरी प्रशासन तथा सम्बन्धित निकायले तत्काल सत्यतथ्य पत्ता लगाई दोषीमाथि कडा कारबाही गर्न स्थानीयले माग गरेका छन् ।

 

प्रतिक्रिया