शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

हायू परिवारको पीडा : अन्धविश्वास र अभावबीचको संघर्ष, विश्वासले दिलायो घर फर्किने बाटो

मंगलवार , श्रावण २०, २०८२

सिन्धुली –बिहान बेलुकी के खाने भन्ने चिन्ता, नियमित बिरामी परिरहने सन्तान, हराएका श्रीमान् र रातारात ढुंगा झर्ने आशंकाले एक आमालाई बाँधेर राखेको छ । त्यो परिवारको प्रमुख स्तम्भ उर्मिला हायू हुन्, जो १६ जनाको परिवार एक्लै बोक्दै हुनुहुन्थ्यो ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पामा रहेको उर्मिलाको घर पहाडको डिलमा छ, जहाँ हावा र डर दुवै एकसाथ हुर्किन्छन् । तीन वर्षअघि श्रीमान हराए, पछि हाडखोर मात्र भेटियो। त्यो पीडा झेल्दै गर्दा घरमाथिबाट ढुंगा खस्ने, सन्तान बिरामी पर्ने, ऋण थुप्रिँदै जानेजस्ता समस्याले उर्मिलालाई लखतरान बनायो ।

कसैले उर्मिलालाई भने, “तिमी बस्ने घर अशान्त छ, कहिल्यै शान्ति मिल्दैन ।” अनि सुरु भयो एउटा अप्ठ्यारो निर्णय,‘गाउँ छाड्ने ।’

९ साउनको रात, कसैलाई केही नबताई उर्मिलाले परिवारसहित गाउँ छाडनुभयो । १६ सदस्यको हायू परिवार एकैचोटि गोलन्जोरबाट पोखरा पुग्यो । पोखरामा बसोबास गरिरहेका ज्वाइँको सल्लाहमा उनीहरू त्यहाँ पुगेका थिए ।

जब परिवार बेपत्ता भयो, प्रहरी र जनप्रतिनिधि खोजीमा लागे । समाचारहरू एकपछि अर्को बर्सिन थाले । पोखराको गगनगौंडामा उनीहरू फेला परे ।

गोलन्जोरका वडा नम्बर ६ का वडाध्यक्ष रविनकुमार श्रेष्ठलाई यो घटना सुतेर बस्न दिएन । आफैं पोखरा पुगेर परिवारसँग संवाद गर्नुभयो । वडाअध्यक्ष संग उनिहरूले आफ्नो घर त अब कहिल्यै नफर्किने बताएका थिए । तर वडाध्यक्षको भरोसा र सहानुभूतिपूर्ण व्यवहारले परिस्थितिमा मोड आयो । वडाध्यक्ष श्रेष्ठले भन्नुभयो, “पुरानो घरमा नबस्ने हो भने पनि बस्ने व्यवस्था म गर्छु । नजिकैको चार रोपनी जमिन तपाईंहरूकै नाममा पास गरिदिन्छु ।” अनि उनीहरू वडाध्यक्षकै साथमा सिन्धुली फर्किए ।

पोखराबाट फर्किँदै गर्दा उर्मिलाले भन्नुभयो, “भागेका होइनौं, सल्लाहमै हिँडेका थियौं । अब खुसीमै फर्किंदैछांै ।”

घरका बाख्रा, कुखुरा, सबै सामान खुला छाडेर गएका उनीहरू अब वडाध्यक्षको घरमा केही समय बस्नेछन् । पछि उनीहरूलाई नयाँ घरमा पुनःस्थापित गरिनेछ ।

वडाध्यक्ष श्रेष्ठले भन्नुभयो, “उनीहरूको समस्या अन्धविश्वासमात्र होइन, गरिबी पनि हो । त्यो वडामा अधिकांश हायू समुदायसँग वर्षभर खान पुग्ने जमिन छैन ।”

यस घटनाले एक सत्य उजागर गरिदिएको छ,“लोपोन्मुख जातिहरू अझै पनि अभाव, अन्धविश्वास, अशिक्षा र अपहेलना झेलिरहेका छन् । यस्ता समुदायको संरक्षण, पुनस्र्थापना र सशक्तीकरण राज्यको प्रमुख जिम्मेवारी हो ।”

उर्मिलाको पीडा केवल एउटा परिवारको कथा होइन—सामाजिक संरचनामा मौलाउँदै आएको उपेक्षा र अभावको प्रतिनिधि घटना हो । तर यसपटक एउटा सानो आसाको किरण देखियो,एक जिम्मेवार वडाध्यक्षको संवेदनशीलता, सहयोग र विश्वास ।

प्रतिक्रिया