काठमाडौँ – दुर्गा प्रसाईलाई उच्च अदालत पाटनले तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनसँग सम्बन्धित मुद्दामा र बैंकिङ कसुर दुवैमा सोमवार धरौटीमा छाड्न आदेश आदेश दिएको छ । उच्च अदालत, पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले र बैंकिङ कसुर मुद्वमा धरौटीमा छाड्न आदेश दिएको हो ।
प्रसाईलाई बैंकिङ कसुरमा २५ लाख रुपैयाँ धरौटी माग गरिएको छ । उहाँ तत्काल निर्दोष रहेछन् भन्ने भन्न नसकिने भए पनि क्यान्सर रोगबाट पीडित रहेको विषयलाई समेत मध्यनजर गर्दै अदालतले धरौटीमा छाड्ने आदेश दिएको हो ।
प्रसाईंले विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेका खाताहरूमा गलत कारोबार देखाएको (राउन्ड ट्रिपिङ), स्वार्थ बाझिने गरी आपसी पक्षसँगै कारोबार (रिलेटेड पार्टी ट्रान्जाक्सन) लगायतका शंकास्पद कारोबार गरेको आरोप थियो ।
“प्रसाईंले अदालतसमक्ष बयान गर्दा कसुरमा इन्कार गरेको देखिएता पनि उनीमाथि राउन्ड ट्रिपिङ र लेयरिङ गरी कर्जा अपचलन गरेको भन्ने दाबी घटना कागज गर्ने व्यक्तिहरूले गरेको कागज, सहप्रतिवादीहरूले अनुसन्धानमा गरेको बयान, छानबिन समितिको प्रतिवेदन बेहोरा समेत मध्यनजर गरी मिसिल संलग्न तत्काल प्रमाणहरूबाट दुर्गा प्रसाईं निर्दोष रहेछन् भनी अहिले नै भन्न सकिने अवस्था नदेखिँदा,” आदेशमा भनिएको छ ।
त्यस्तै उच्च अदालत, पाटनले सोमवारनै उहाँलाई चैत १५ तीनकुने घटनामा भएको हिंसात्मक प्रदर्शनसँग सम्बन्धित मुद्दामा समेत तीन लाख धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश टंकप्रसाद गुरुंग र डिल्लीरत्न श्रेष्ठको इजलासले राज्यविरुद्धको कसुर, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रवको मुद्धामा धरौटीमा छोड्न आदेश दिएको हो ।