सिन्धुली, १९ साउन — घर छाडेर पोखरा पुगेको हायु परिवार ११ दिनपछि फर्किएको छ । सिन्धुलीको गोलान्जोर गाउँपालिका–६ का वडाध्यक्ष रविन श्रेष्ठकै साथमा उनीहरू सोमबार घर फर्किएका हुन् ।
तर फर्किए पनि उनीहरूले आफ्नै पुरानो घरमा बस्न अस्वीकार गरेका छन् । बिरामी भइरहने समस्या भएको भन्दै उनीहरू पुरानो घरमा नबस्ने अडानमा रहेपछि वडाध्यक्ष श्रेष्ठले तत्कालका लागि आफ्नो घरमा बस्ने र पछि नयाँ घर बनाइदिने सहमति गरेर फर्काउनुभएको हो ।
वडाध्यक्ष श्रेष्ठले भन्नुभयो, “अब उहाँहरू पहिलेको घरमा जानुहुन्न । तत्काल मेरै घरमा बस्नुहुन्छ । जग्गा खोजेर नयाँ घर बनाइदिन्छौं, अनि त्यहाँ सर्नुहुन्छ ।”
सुरुमा घर छोडेका १६ जना र तीन जना आफन्त गरी १९ जनाको परिवार साउन ८ गते राति गाडी चढेर पोखरा पुगेका थिए । उनीहरू पोखराको एक होटलमा बसेपछि अर्को दिन गगनगौंडामा दुई घरमा बास बस्न गएका थिए । खोजीका क्रममा प्रहरीले राति नै उनीहरूलाई फेला पारेको थियो ।
घर फर्काउन सोमबार बिहान मात्रै वडाध्यक्ष श्रेष्ठ पोखरा पुग्नुभएको थियो । पोखराबाट सार्वजनिक बसमार्फत मुग्लिनसम्म ल्याई त्यहाँबाट सिन्धुलीबाट गाडीमगाएर सिन्धुली ल्याइएको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयोे । फर्किने क्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उनीहरूलाई विदाइ गर्नुभएको थियो ।
वडाले उहाँहरूको साढे ८ लाख रुपैयाँ ऋण तिर्नसमेत स्थानीय सहयोगमा समन्वय गर्ने जनाएको छ । छोरालाई विदेश पठाउँदा र घरखर्च गर्दा लागेको ऋणका कारण उनीहरू समस्यामा परेका थिए ।
नेपाल सरकारले दिने सामाजिक सुरक्षा भत्ता गोलान्जोर गाउँपालिकाबाट उनिहरुलेले प्रतिव्यक्ति मासिक ४ हजार रुपैयाँ बुझ्दै आएका छन् । तर उनीहरू बस्दै आएको पुरानो घर अत्यन्तै दुर्गम क्षेत्रमा परेको र बिरामी हुँदा औषधि समेत सहजै नपाइने भन्दै त्यहाँ फर्किन नमान्दा वडाध्यक्षकै पहलमा उनीहरू पुनः गाउँ फर्किएका हुन् ।
[video width="472" height="850" mp4="https://sindhulisaugat.com/media-file/images/2025/08/8866a52a-4aa8-4b7c-b589-ae073b73242f-1.mp4"][/video]