शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

बिपी राजमार्गमा ढुंगा उत्खनन नरोकिए खतरा, पुनर्निर्माणको औचित्यमै प्रश्न

सोमवार , श्रावण १९, २०८२

सिन्धुली,१८ साउन – राजधानी काठमाडौँलाई बनेपा–सिन्धुली हुँदै पूर्वी नेपालसँग जोड्ने बिपी राजमार्गको पुनर्निर्माणका लागि जापान सरकार र नेपाल सरकारको संयुक्त लगानीमा काम अघि बढिरहेको छ । जापानको २.६१ अर्ब रुपैयाँको अनुदान र नेपाल सरकारको आठ अर्ब रुपैयाँको लागतमा पुनर्निर्माण हुन लागेको यस राजमार्गको दीर्घकालीन स्थायित्वबारे विज्ञहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

जापानले निर्माण गरेको बिपी राजमार्गलाई देशकै दिगो राजमार्गको रूपमा लिइँदै आएको थियो । तर, रोसीखोला क्षेत्र आसपास सञ्चालनमा रहेका ११ वटा क्रसर उद्योग र ११ वटा ढुंगाखानीका कारण खोलाको सतह उच्च हुँदै गएपछि गत असोजको बाढीले राजमार्ग नै बगाएको थियो । खोलाको सतह यति माथि उठेको छ कि अहिले सामान्य वर्षा हुँदा पनि पानी राजमार्गको माथिबाट बग्ने अवस्था सिर्जना भएको छ ।

भूप्रविधिविज्ञ डा. मन्दीप सुवेदीका अनुसार क्रसर र खानीको अव्यवस्थित उत्खननले भविष्यमा अझ गम्भीर जोखिम निम्त्याउनेछ । उहाँले इन्जिनियरिङ अध्ययन र अनुसन्धानका आधारमा मात्र ढुंगा–गिट्टी उत्खनन गर्नुपर्ने सुझाव दिनुभएको छ । खोलानालाबाट सुरक्षित दूरीमा खानी सञ्चालन, गेग्य्रानको उचित व्यवस्थापन, रिटेनिङ पर्खाल र बायो इन्जिनियरिङ प्रविधि अपनाउनुपर्नेमा उहाँको जोड छ ।

यसैगरी, वरिष्ठ भूगर्भविद् शिवप्रसाद बाँस्कोटाले खानी र क्रसर उद्योगबाट निस्कने माटो, ढुंगा र बालुवाका कणहरू खोलामा फालिँदै आएकाले खोलाको सतह वृद्धि भई राजमार्ग जोखिममा परेको बताउनुभयो । उहाँले यस्ता उद्योगहरू नियमअनुसार मात्र सञ्चालन हुनुपर्ने र उत्सर्जन सामग्रीको सुरक्षित विसर्जन अनिवार्य गरिनुपर्ने धारणा राख्नुभएको छ ।

सडक विभागका उपमहानिर्देशक अर्जुन अर्यालले भने बाढीले पु¥याएको क्षतिको अध्ययनका आधारमा अब राजमार्गको पुनर्निर्माण हुँदैछ भन्दै सुधारिएको डिजाइन (भायडक प्रविधि सहितको उच्च पुल) को प्रयोग गरिने बताउनुभयो । उहाँका अनुसार गत वर्षको बाढीले भित्तो कटान गरेकाले अब त्यस क्षेत्रलाई विशेष संरचनाले सुरक्षित बनाइनेछ ।

सडक विभागका अनुसार बाढीले क्षति पुर्‍याएको भकुन्डेबेँसीदेखि नेपालथोकसम्मको ३० किलोमिटर सडकलाई चार खण्डमा विभाजन गरी पुनर्निर्माण थालिएको छ ।

सडक विभागका अनुसार गत वर्ष बाढीले क्षतिग्रस्त बनाएको भकुन्डेबेँसीदेखि नेपालथोकसम्मको ३० किलोमिटर सडकलाई चार खण्डमा विभाजन गरी पुनर्निर्माण गर्न लागिएको हो । यसमध्ये २५ किलोमिटरको निर्माणका लागि तीन प्याकेजमा ठेक्का सम्झौता भइसकेको छ । भकुन्डेबेँसीदेखि चार सयबेँसीसम्मको निर्माणका लागि एक अर्ब १४ करोड रुपैयाँको लागतमा ठेक्का लागिसकेको छ ।

यस खण्डको दुरी ११ किलोमिटर छ । त्यसै गरी चार सयबेँसीदेखि डालाबेँसीसम्मको निर्माणका लागि एक अर्ब ४२ करोड रुपियाँमा ठेक्का सम्झौता भएको हो । यस खण्डको लम्बाइ ८.५ किलोमिटर छ ।

त्यसै गरी सिन्धुलीतर्फको बर्खेखोला–नेपालथोक खण्डको निर्माणका लागि ६१ करोड १४ लाख रुपैयाँमा ठेक्का सम्झौता भइसकेको छ । यस खण्डको लम्बाइ चार किलोमिटर छ । निर्माणका लागि सम्झौता हुन बाँकी रहेकामध्ये पिप्लेदेखि बर्खेखोलासम्म ३.२ किलोमिटर राजमार्ग खण्डको निर्माण जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को अनुदान सहयोगमा हुन लागेको हो । यसै खण्डको निर्माणका लागि जापानले अनुदान सहयोग दिएको हो । अझै बाँकी रहेको पिप्लेदेखि बर्खेखोलासम्मको ३.२ किमी खण्डको पुनर्निर्माण जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को अनुदानमा गरिनेछ ।

बिपी राजमार्गको पुनर्निर्माण कार्य द्रुतगतिमा अघि बढिरहेको भए पनि विज्ञहरूले खानी र क्रसर उद्योगको उचित व्यवस्थापन विना गरिएको निर्माण दीर्घकालीन रूपमा असफल हुने चेतावनी दिएका छन् । ‘रोग लाग्नुभन्दा रोगको बाटो छेक्नु जाती’ भनेझैँ अव्यवस्थित उत्खनन नियन्त्रण नगरी गरिएको पुनर्निर्माण प्रयास जोखिममा पर्न सक्छ भन्नेमा सरोकारवालाहरू एकमत देखिन्छन् ।

प्रतिक्रिया