शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

अमेरिकामा जन्मियो संसारकै पाको ३० वर्षीय शिशु

सोमवार , श्रावण १९, २०८२

अमेरिकाको ओहियोमा विश्वको सबैभन्दा पाको उमेरको बच्चा जन्मिएको छ । उक्त नवजात शिशुको वास्तविक उमेर ३० वर्ष छ । सो बच्चाको नाम थेडियस डेनियल पियर्स हो । ‘पाको उमेरको अर्थात् वृद्ध बच्चा’ यो शब्दावली सुन्दैमा अनौठो तथा नसुहाउँदो लाग्दछ । तर, यो यथार्थ हो ।

वास्तवमा अहिले जुन बच्चा जन्मिएको छ, त्यसको भ्रुण १९९४ मै फ्रिज गरिएको थियो । सोही भ्रुणबाटै अहिले थेडियसको जन्म भएको हो ।

न्यूयोर्क पोस्टको रिपोर्ट अनुसार ओहियोकी ३४ वर्षीया लिन्डसे र ३५ वर्षीय टिम पियर्स सो बच्चाको मातापिता हुन् । गत जुलाई २६ मा जन्मिएको बच्चाको भ्रणण ३० वर्षअघि एक आइभिएफ केन्द्रमा विकसित गरिएको थियो । टिम र लिन्डसेको छोराको भ्रुण गर्भाधानका लागि तयार हुँदा उनीहरुको उमेर ४÷५ वर्ष मात्रै थियो । अर्थात् उक्त दम्पति र उनीहरुको नवजात पुत्रको उमेरको अन्तर केवल केवल ४÷५ वर्ष मात्रै छ । सन् १९९४ मा तयार पारिएको उक्त भ्रूण सन् २०२४ को नोभेम्बरमा मात्रै लिन्डसेको गर्भमा प्रत्यारोपण गरिएको थियो ।

योसँगै थेडियसले सबैभन्दा वृद्ध शिशुको नयाँ कीर्तिमान कायम गरेको छ । एमआइटी टेक्नोलोजी रिभ्यू जर्नलसँग कुराकानी गर्दै लिन्डसेले आफूहरुलाई आफ्नो छोराको भ्रूणको उमेरका बारेमा बताउँदा निकै आश्चर्य लागेको बताएकी छिन् । त्यति लामो समयअघि जमाएको भ्रूणले पनि काम गर्दछ भन्ने अनुमान उनलाई थिएन ।

तर, आफूहरुले कीर्तिमान कायम गर्नका लागि नभई सन्तानलाभ प्राप्त गर्नका लागि गर्भाधारण गरेर बच्चा जन्माएको उनी बताउँछिन् । वास्तवमा विवाहको ७ वर्षसम्म पनि गर्भाधारणका लागि संघर्ष गर्दा असफल भएपछि लिन्डसे दम्पति एउटा कार्यक्रममा सहभागी भए जहाँ उनीहरुलाई थेडियसको भ्रूण प्रदान गरिएको थियो ।

अनौठो त के भने थेडियस डेनियलकी एकजना ३० वर्षीया दिदी पनि छिन्, जसकी छोरीको उमेर नै १० वर्षको छ ।

थेडियसको भ्रणणलाई सन् १९९४ मा लिन्डा आर्चर्ड र उनका पूर्वपतिका लागि आइभिएफ उपचारका क्रममा तीनवटा अन्य भ्रुणसँगै विकशित गरिएको थियो । सोहीमध्ये एउटा भ्रुण लिन्डामा प्रत्यारोपण गरिएको थियो जसले ९ महिनापछि सन् १९९४ मा एक स्वस्थ बालिका जन्माइन् । तिनै शिशु अहिले ३० वर्षकी महिला बनिसकेकी छिन् र उनी १० वर्षीया छोरीकी आमा पनि भैसकेकी छिन् ।

आर्चर्डले एमआइटी प्रविधि रिभ्यूसँग बताए अनुसार उनकी छोरीको जन्मअघि तीनवटा अन्य भ्रूणहरु क्रायोजेनिक रुपमा फ्रिज गरिएको थियो । उनी आफ्ना ती भ्रूणबाट थप एउटा बच्चा जन्माउन चाहन्थिन् । ती फ्रीज गरिएका आफ्ना भ्रूणलाई उनी तीनवटा साना आशा भन्ने गर्थिन् ।

तर आर्चर्ड र उनका पतिबीच सम्बन्ध विच्छेद भयो । त्यसपछि उनले थप बच्चा जन्माउने इच्छा त्यागिन् । तथापि उनले आफ्ना भ्रुण फ्रीज गर्नका लागि लाग्ने वार्षिक एक हजार डलर शुल्क तिरिरहिन् ।

त्यसपछि चाहिँ उनले आफ्ना ती भ्रुण दान गर्ने निर्णय गरिन् । अनि त्यसका लागि उनले नाइटलाइट क्रिश्चियन एडप्सन एजेन्सीद्वारा सञ्चालित भ्रुणको अभिभावकत्व लिने कार्यक्रममा सहभागी भइन् । त्यो एउटा यस्तो कार्यक्रम हो जहाँ भ्रुण दाताहरु र भ्रुण दान लिन चाहनेबीच भेटघाटको अवसर प्राप्त हुन्छ ।

त्यहीँ कार्यक्रममार्फत् आर्चर्डले आफ्नो एक भ्रुण लिन्डसे दम्पतिलाई दिने निर्णय गरिन् । भ्रुण दान गर्दा आफूलाई निकै खुसी प्राप्त भएको आर्चर्ड बताउँछिन् । लिन्डसेले नवजात शिशुको तस्वीर पठाउँदा त उनको खुसीको सीमा नै रहेन । लिन्डसेले जन्माएको छोरा थेडियसको अनुहार ठ्याक्कै आफ्नी छोरीको जस्तो रहेको आर्चर्ड बताउँछिन् ।

उता भ्रणण ग्रहणबाट छोरा जन्माएकी लिन्डसे पनि सन्तानलाभबाट खुसी छिन् । उनले कुनै चानचुने बच्चालाई जन्माएकी छैनन्, एकजना ३० वर्षीय शिशुलाई जन्म दिएर कीर्तिमान कायम गरेकी छिन् ।

प्रतिक्रिया