शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

२२ वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त कारागार चलान

आइतवार , श्रावण १८, २०८२

सिन्धुली, १८ साउन – २२ वर्षअघि भएको कर्तव्य ज्यान घटनामा फरार रहेका अभियुक्त केदार सिंह थापा अन्ततः पक्राउ परी कारगार चलान भएका छन् । उनलाई जिल्ला अदालत सिन्धुलीले आइतबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

थापा सिन्धुलीको साविक अरुणठाकुर गाविस–८ (हाल दुधौली नगरपालिका–१३) स्थायी बासिन्दा हुन् । उनी हाल दाङको लमही नगरपालिका–९, जलकुण्डीमा लुकिछिपी बस्दै आएका थिए । जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोलीले लामो समयको अनुसन्धानपछि उनलाई २०८२ साल असार २३ गते पक्राउ गर्न सफल भएको हो ।

थापाले २०६० साल पुष ६ गते राति धारिलो हतियार प्रयोग गरी थापा सिन्धुलीको साविक अरुणठाकुर गाविस–८ (हाल दुधौली नगरपालिका–१३) ४५ बर्षय रत्नबहादुर कार्की र उनकी पत्नी ४५ बर्षिया दुर्गामाया कार्कीको हत्या गरेर फरार भएका थिए । घटनापछि प्रहरीको नजरबाट उम्किरहेका थापा २२ वर्षपछि पक्राउ परेका हुन् ।

पक्राउ परेपछि आवश्यक अनुसन्धान गरी अभियोगपत्रसहित जिल्ला अदालत सिन्धुलीमा पेश गरिएको थियो । अदालतले उनलाई पुर्पक्षका लागि सिन्धुली कारागारमा थुनामा राख्न आदेश दिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार लामो समयदेखि लुकेर बसेका थापालाई कारबाहीको दायरामा ल्याउन सफल हुनु महत्वपूर्ण उपलब्धि हो ।

 

प्रतिक्रिया