हेटौंडा ,१८ साउन – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिनुभएको छ । पार्टीको आन्तरिक विवादपछि संसदीय दलको नेताको हैसियत गुमाएका लामाले एकवर्ष ९ दिन बागमती प्रदेश सरकारको नेतृत्व गरेर आइतबार राजीनामा दिनुभएको हो । लामाले २०८१ को साउन ९ गते मुख्यमन्त्रीको शपथ लिनुभएको थियो ।
शनिबार काँग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेपछि लामा मुख्यमन्त्री छोड्न तयार हुनभएको हो । देउवा निवास बुढानीलकण्ठमा भएको भेटमा लामाले नियुक्त गरेका तीन मन्त्रीलाई निरन्तरता दिने सहमति भएको छ । लामाले दलको नेतामा पराजित भएपछि गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गर्नुभएको थियो । तर प्रदेश प्रमुख विरामी भएको भन्दै तोकिएको शपथको कार्यक्रम स्थगित भएको थियो ।
अर्कोतर्फ संसदीय दलको नेतामा इन्द्र बहादुर बानियाँसँग पराजित भएपछि लामाले मुख्यमन्त्रीबाट राजीनामा दिने आवश्यक नभएको जिकिर गर्दै आउनुभएको थियो । उहाँले गठबन्धन सरकारको मुख्यमन्त्री बन्न संसदीय दलको नेता हुन आवश्यक नरहेको तर्क गर्दै राजीनामा नदिने अडान लिनुभएको थियो ।
अब काँग्रेस प्रदेश सभापति एवं संसदीय दलका नेता बानियाँ बागमती प्रदेशको नयाँ मुख्यमन्त्री बन्ने तयारीमा हुनुहुन्छ । एभरेष्ट न्यूज एजेन्सी,