शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

हरिहरपुरगढीका अध्यक्ष वाइबाद्वारा मृतक परिवारलाई समवेदना

शनिवार , श्रावण १७, २०८२

 

सिन्धुली —हरिहरपुरगढी गाउँपालिका अध्यक्ष वज्रध्वज वाइबाले शुक्रबार दिउँसो हावाहुरीसहितको मुसलधारे वर्षाका क्रममा सालको रुख ढल्दा मृत्यु भएका मृतकका परिवार र घाइतेहरुलाई भेट गर्नुभएको छ ।

गाउँपालिका अध्यक्ष वज्रध्वज वाइबाले घटनास्थलमै ज्यान गुमाएका ९ वर्षीया सार्की थिङ र १६ वर्षीया सन्ता गोलेप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । उहाँले शनिबार घटनास्थलको अवलोकन गर्दै शोकसन्तप्त परिवारलाई भेटी समवेदना प्रकट गर्नुभयो ।

घटनामा परी गम्भीर घाइते भएकी १४ वर्षीया सिर्जना माया गोले, १५ वर्षीया सन्ध्या भोलन र ७ वर्षीय सुशील थिङको अहिले हेटौंडास्थित सहकारी अस्पताल ट्रमा सेन्टरमा उपचार भइरहेको छ । अध्यक्ष वाइबाले उपचाररत बालबालिकालाई अस्पतालमै पुगेर भेट्नुका साथै शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

उहाँले घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था गर्न तथा पीडित परिवारलाई उचित क्षतिपूर्तिका लागि नेपाल सरकारसमक्ष पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । निम्न वर्गीय पीडित परिवारप्रति सहानुभूति प्रकट गर्दै गाउँपालिकाको तर्फबाट साथै विमला फाउण्डेशनमार्फत समेत आवश्यक आर्थिक सहयोग प्रदान गरिने जानकारी दिनुभयो ।

हरिहरपुरगढी गाउँपालिका–१ बस्तीपुरमा शुक्रबार दिउँसो हावाहुरीसहितको मुसलधारे वर्षाका क्रममा सालको रुख ढल्दा दुई बालिकाको मृत्यु भएको छ भने तीन जना बालबालिका घाइते भएका थिए ।

प्रतिक्रिया