“जनयुद्धका योद्धालाई बिर्सेर, पाउ मोलेर नेता बनेकाहरूलाई लाज लाग्दैन ?”
सिन्धुली, १७ साउन — पूर्व माओवादी नेता तथा हाल नेकपा (एमाले)मा आबद्ध शान्तिमान कार्कीले सामाजिक सञ्जालमा निकै कडा र संवेदनशील अभिव्यक्ति सार्वजनिक गर्नुभएको छ । उहाँले आफ्नै विगत, गिरफ्तारी, भूमिगत यात्रा, माओवादी आन्दोलनमा संलग्नता, र पछिल्लो राजनीतिक परिदृश्यबारे उल्लेख गर्दै पार्टीभित्रको आन्तरिक चरित्रमाथि प्रश्न उठाउनुभएको छ ्।
कार्कीले आफ्नो फेसबुक पेजमा लेख्नुभएको छ, “कसरी काठमाडौंबाट गिरफ्तार भइ सिन्धुली डिएसपी नवीन अधिकारीमार्फत नेकपा (माले) जिल्ला सचिवको हैसियतले जिम्मा लिइयो भन्ने कुरा म शान्तिमान कार्की हुँ भनेर आज पनि खुलाउन चाहन्छु ।“ उहाँले तत्कालीन जिल्ला उपसचिव विनोद दाहालको आग्रहमा यो जिम्मेवारी लिएको दाबी गर्नु भएको छ ।
उहाँको अभिव्यक्तिमा विगतको सशस्त्र संघर्षमा आफूले खेलेको भूमिकाको चर्चा गर्दै हालका नेताहरूको व्यवहारप्रति आक्रोश व्यक्त गरिएको छ । उहाँले पार्टीभित्र रहेका केही व्यक्तिहरूलाई “धुपौरे भाडाका स्याल” संज्ञा दिँदै तीनले आफूविरुद्ध अनर्गल प्रचार गरिरहेको आरोप लगाउनुभएको छ ।

उहाँको आरोप अनुसार, चुनावमा दुधौली, कमलामाई, मरिण, सुनकोशी र गोलन्जोर क्षेत्रहरूमा माओवादी पार्टीबाट उभ्याइएका केही व्यक्तिहरूले बलात्कार, चोरी र भ्रष्टाचारजस्ता गम्भीर अपराधहरू गरेका छन्, जसले जनस्तरमा पार्टीको छवि धुमिल बनाएको छ ।
कार्कीले स्पष्ट रूपमा कुनै व्यक्तिको नाम नलिए पनि उहाँको यो अभिव्यक्ति मओबादी नेता तथा सिन्धुली क्षेत्र नं. २ संघीय सांसद लेखनाथ दाहाल ‘राजन”लाई लक्षित गरिएको हुनसक्ने संकेत सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले गरेका छन् ।
त्यस्तै, उहाँले जनयुद्धमा योगदान दिने सहिद, बेपत्ता, बन्दी र अपांग कार्यकर्ताहरूलाई सम्मानजनक व्यवहार नगरिएकोप्रति दुःख व्यक्त गर्नुभएको छ र पार्टी नेतृत्वलाई पुनः आत्मसमीक्षा गर्न आग्रह गर्नुभएको छ ।
अन्त्यमा उहाँले लेख्नुभएको छ, “उपयुक्त समयमा फेरि भेटौंला, त्यतिबेला भेटघाट अवश्य नै निर्णायक हुनेछ । सूर्यलाई हत्केलाले छेकिदैन ।”
शान्तिमान कार्कीको यो अभिव्यक्ति सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चा भइरहेका बेला माओवादी र एमाले दुवै पक्षमा यसको राजनीतिक प्रभाव के पर्छ भन्ने विषयले थप चासो खिचेको छ ।